समाज

पाँचथरको फालोटमा विदेशी पर्यटक भरिभराउ, पूर्वाधार भने बन्न सकेन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते १८:५०
पाँचथरको फालोटमा विदेशी पर्यटक भरिभराउ, पूर्वाधार भने बन्न सकेन (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ पाँचथर । पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकामा पर्ने फालोट–तीन सिमाना क्षेत्र यतिबेला विदेशी पर्यटकले भरिभराउ छ ।

सन्दकपुरबाट भारतीय बाटो प्रयोग गर्दै आएका पर्यटक त्यहाँको दृष्यमा मोहित छन् । त्यसो त नेपाल तर्फबाट पनि यो क्षेत्रमा घुम्न जानेको संख्या उल्लेख्य छ । तर नेपालतर्फ आवश्यक पर्यटकीय पूर्वाधार भने बन्न सकेको छैन ।

फालोट–तीन सिमाना क्षेत्रबाट हिमाली दृष्य तथा उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । भारतसँग सिमाना जोडिएको यो क्षेत्रमा नेपालतर्फ पर्याप्त पूर्वाधार बन्न नसक्दा पर्यटकले सुविधा पाउन सकेका छैनन् भने आम्दानी पनि गुमिरहेको छ ।

सिक्किम भारतसँग विलय हुनु पूर्व भारत, नेपाल र सिक्किमको सिमाना भएकाले यो ठाउँलाई तीन सिमाना भनिन्थ्यो । समुद्र सतहदेखि ३ हजार ५ सय ८७ मीटर उचाईमा रहेको यो ठाउँबाट हिमाल आखैँ अघि देखिन्छ ।

मौसम अनुसार फरक फरक रुपमा आर्कषक देखिने यो ठाउँमा पर्यटकलाई राख्ने, सडक र पदमार्गको उचित प्रबन्ध भने छैन । भारत तर्फ गेष्ट हाउस भए पनि नेपाल तर्फ चौरी गोठमा बस्नु पर्ने पर्यटकलाई बाध्यता छ ।

तीन सिमानासम्म नेपाल तर्फबाट पनि सडक पुगेको छ । तर सन्दकपुर, चारराते जस्ता चर्चित ठाउँ पुग्न भने भारतीय सडक नै प्रयोग गर्नु पर्ने बाध्यता छ । तीन सिमानाको विशेषताकै रुपमा रहेको चौरी र चौरीगोठको प्रबर्द्धन गर्दै पूर्वाधारको समेत विकास गर्न सके थप पर्यटक आकर्षित गर्न सकिनेछ ।

मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङदेखि, पौवाभञ्याङ छिन्तापु हुँदै तीन सिमानसम्मको पदयात्रा रोचक हुन्छ । प्राकृतिक रुपमा सुन्दर यो ठाँउ भारतसँग सिमा जोडिएकाले क्रस बोडर टुरीजमको विकास गर्न सकिन्छ ।

यो क्षेत्रमा सडक, पदमार्ग, कफि हाउस, होटल लगायतका पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न सके पर्यटन प्रबर्द्धनमा मद्दत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *