सरकारी राहतको प्रतीक्षामा ढोरपाटनका बाढी पीडित (भिडियो रिपोर्टसहित)
२१ मंसिर २०७८ बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गत वर्ष भदौ १७ गते राति आएको बाढीले जनधनको क्षति गर्यो । बाढीपीडितका लागि देश विदेशबाट संकलन भएको रकम नगरपालिकाले हस्तान्तरण गरिसकेको छ । तर, पीडितले अहिलेसम्म सरकारी राहत भने पाउन सकेका छैनन् ।
बागलुङको ढोरपाटन नगरपालिकाकी बाढीपीडित छलिमाया सुनार पानी परेर बत्ती गयो भने निदाउन सक्नुहुन्न । बाढीका कारण कालको मुखमा पुगेर फर्किएकी सुनारले त्यो कालोरातलाई बिर्सन सक्नुभएको छैन ।
गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ९ का २१ र गलकोट नगरपालिका वडा नम्बर–४ का एक जनाको मृत्यु भयो । एक सय ४२ घर तथा १२ सवारी साधनमा क्षति पुग्यो । ३८ जना बेपत्ता भएकोमा २२ जनाको मात्र शव फेला पर्यो, १६ जना अझै बेपत्ता छन् ।
बाढी गए लगत्तै देश तथा विदेशमा रहेका नेपालीले संकलन गरेको करिब २ करोड ४६ लाख रुपैयाँ ढोरपाटन नगरपालिकाले केही समय अगाडी एकद्वार प्रणालीमार्फत पीडितलाई हस्तान्तरण गर्यो । तर पीडितका लागि संघीय सरकार र प्रदेश सरकारले दिने भनेको चार लाख रुपैँया भने हालसम्म पीडितले पाएका छैनन ।
थोरै रकम दिएर धेरै रकम लिएको भन्दै नगरपालिकाले हस्ताक्षर गर्न लगाएको पीडितको गुनासो छ । तर स्थानीय जनप्रतिनिधि भने यसबारे बेखबर छन् ।
ढोरपाटन नगरपालिकाका एक सय २६ घरसहित जिल्ला भरका करिब छ सय ३२ घर पुर्ननिर्माण गर्नुपर्ने सूचिमा छन् । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पिडितले रकम पाउनका लागि गण्डकी प्रदेशले ३०, नगरपालिकाले १५ र गाउँपालिकाले १० प्रतिशत रकम जम्मा गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको कार्यबिधीमा उल्लेख छ । पुर्ननिर्माण गर्नु पर्ने घरको संख्या धेरै भएकाले १५ प्रतिशत रकम जम्मा गर्न नसकिएको नगरपालिकाले बताएको छ ।
प्राकृतिक प्रकोपबाट पीडितहरुले उचित राहत र क्षतिपूर्ती नपाउँदा सरकारप्रति नै जनविश्वास गुम्दै गएको छ । पीडितको उचित व्यवस्थापन गर्न सरकारले तत्काल पहल गर्नुपर्दछ ।
प्रतिक्रिया