समाज

जनकपुरमा विवाह पञ्चमी महामहोत्सव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते ६:१६
जनकपुरमा विवाह पञ्चमी महामहोत्सव (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ धनुषा । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यो वर्ष पनि विवाह पञ्चमी महामहोत्सव जारी छ । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमीको हरेक दिन हुने विधि र कार्यक्रमले भगवान रामजानकीको पौराणिक वैवाहिक कार्यक्रमलाई दर्शाउने गरेको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नगरदर्शन आयोजना गरिन्छ । जानकी मन्दिरको प्राङ्गणमा जनकपुरधाम नगरवासीलाई समेत सहभागी गराई भगवान रामजानकीलाई नगरदर्शन गराइन्छ ।

विवाह पञ्चमीको दोस्रो दिन फूलबारी लिला आयोजना गरिन्छ । भगवान रामजानकी पहिलो पटक फूलबारी अर्थात बगैचामै भेट भएको जनविश्वासका साथ नाचगान गरी विधिका साथ फूलबारी लीला गरिन्छ ।

विवाह पञ्चमीको तेस्रो दिन धनुषयज्ञको आयोजना हुन्छ । राजा जनकले आफ्नो दरबारमा रहेको शिवधनुष उचाल्न सक्ने वीर राजकुमारसँग मात्र आफ्नो छोरी सीताको विवाह गरेको सम्झनामा वीरता प्रदर्शन गरिन्छ ।

विवाहपञ्चमीको चौथो दिन अर्थात सोमबार तिलकोत्सव सम्पन्न भएको छ । भगवान राम अर्थात बेहुला पक्ष र जानकी अर्थात बेहुली पक्षका अभिभावकबीच हुने सम्धी मिलान तिल्कोत्सव कार्यक्रमको मुख्य आकर्षण हो ।

जानकी मन्दिरबाट फलफूल र मिष्ठानसहितको उपहार राममन्दिरको प्राङ्गणमा पुर्‍याएर श्री राम मन्दिरका महन्थ बेहुलाको बुवा र श्री जानकी मन्दिरका महन्थ बेहुलीको बुवाको रुपमा सम्धी मिलान गर्नु र गितगानका साथ आयोजित भब्य समारोहमा मिथिला परम्परा अनुसार हाँसो र ठट्टा हुनु तिल्कोत्सव समारोहको मुख्य आकर्षण हुन्छ ।

पाँचौ दिन अर्थात मंगलवार मटकोर पुजा हुनेछ । जानकीको वैवाहिक कार्यक्रम विधिका लागि जानकी मन्दिरमा बनाइने विवाह मण्डपका लागि आवश्यक पर्ने माटो खन्न ऐतिहासिक गंगासागरमा पुगेर गरिने पूजा र विधिलाई मटकोर भनिन्छ । छैठो दिन वैवाहिक कार्यक्रम अर्थात विवाह पञ्चमी र सातौ दिन रामकलेवा अर्थात जन्तीहरुलाई गराइने सामुहिक भोजन र बिदाई कार्यक्रम सहित विवाह पञ्चमी महामहोत्सवको समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *