समाज

गाउँ नै रित्तो पारेर जाडो छल्न बेसीतिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते १४:४१
गाउँ नै रित्तो पारेर जाडो छल्न बेसीतिर (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ बागलुङ । बागलुङको पश्चिमी भेगमा पर्ने ढोरपाटन नगरपालिकाको उपल्लो भेगमा बसोबास गर्दै आएका करिब एक हजार दुई सय घर परिवार चिसो छल्नका लागि तल्लो गाउँतर्फ झरिसकेका छन् । उपल्लो भेगका बासिन्दा बेसी झरेपछि केही गाउँ नै रित्तिएका छन् ।

ढोरपाटन क्षेत्रको पाखाथर, नौथर, स्यालपाखे, नवि, गहुँखेत, काँसिबाङ, खुँङखोला, भुजी, मस, काङ तथा निसीखोला गाउँपालिकाको उपल्लो भेगमा बसोबास गर्नेहरु आफ्नो घरमा चाँबी लगाएर बेसी झरेपछि गाउँनै रित्तिएको छ ।

उनीहरु चिसो छल्नकै लागि बोबाङ, अधिकारीचौर, बुर्तिबाङ लगायत ठाउँहरुमा झर्ने गरेका छन् । असोजयता चिसो बढ्न थालेपछि ढोरपाटन नगरपालिका तथा निसीखोला गाउँपालिकाका उपल्लो भेगबाट बेसी झर्न थालेका हुन् ।

गाउँनै खाली भएपछि त्यस क्षेत्रमा रहेका खाद्यान्न, घाँस, दाउरा तथा घरभित्र राखिएको सरसामान चोरी हुन नदिन प्रत्येक टोलमा चौकीदार राखिएको छ । सबै घरको सुरक्षाको जिम्मेवारी चौकीदारको हुन्छ । घर हेरिदिएवापत चौकीदारलाई घरमुलीले आलु र मकै दिने गरेका छन् । केहीलाई नगद समेत दिन्छन् ।

उनीहरु चैतको पहिलो साता पुनः ढोरपाटनमै उक्लिएर आलु उत्पादन गर्ने, पशुचौपाया चराउने जस्ता काममा व्यस्त हुन्छन् भने कात्तिकदेखि फागुन महिनासम्म अधिकारीचौर, बोबाङ, निसी गाउँमा झरेर हिउँदे अन्नवाली स्याहार्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *