समाज

धनुषाका विद्यार्थी हातहतियारसहितको सुरक्षा घेरमा पढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते १६:२५
धनुषाका विद्यार्थी हातहतियारसहितको सुरक्षा घेरमा पढ्दै (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ धनुषा । शिक्षाको मन्दिर भनिने विद्यालय स्वच्छ, भयरहित वातावरणमा पढ्न पाइने स्थान भए पनि धनुषाका विद्यार्थीले हातहतियारसहितको सुरक्षा घेरमा बसेर पढ्नु परेको छ ।

धनुषाका केही विद्यालयमा विवादका कारण प्रहरी परिचालन गरिएको छ । यसले बालमनोविज्ञानमा गम्भिर असर पर्नसक्ने खतरा छ ।

कोरोना महामारीका कारण कयौँ महिना बन्द रहेका विद्यालय बल्ल संचालनमा आएका छन् । विद्यार्थी तथा शिक्षकको भौतिक उपस्थितीमा लामो समयपछि पठनपाठन शुरु भए पनि धनुषाका केही विद्यालयमा निर्वाध पढाइ हुन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ को कुर्थास्थित श्री राजर्षिजनक माविमा जग्गाको विवादका कारण प्रहरी तैनाथ छ । धनुषाकै अर्को विद्यालय श्री राष्ट्रिय माविमा पनि विवाद भएपछि प्रहरीको सुरक्षा बढाइएको छ । यसले बाल मनोविज्ञानमा प्रत्यक्ष असर परेको छ ।

विद्यालयलाई जग्गा दान गरेका दाता परिवार र प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादव दुवैले जग्गामा दाबी गर्दा राजर्षिजनक विद्यालयमा विवाद भएको हो । विद्यालयका प्रधानाध्यापक नै दलसँग मिलेर राजनीति गर्न थालेपछि यस्तो अवस्था आएको हो ।

प्रधानाध्यापक यादवले भने केही परिवारले लालपुर्जा बनाएर जग्गा कब्जा गर्न थालेको आरोप लगाउनुभयो ।

अर्को विद्यालय श्री राष्ट्रिय माविमा भने प्रधानाध्यापक लालबाबु यादवले सडेगलेको खाजा बालबालिकालाई खुवाएको तथा पाँच वर्षदेखिको विद्यालयको सम्पत्ति विवरण माग्दा आलटाल गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलित छन्।

विद्याललाई राजनीतिक अखडा बनाएको अभिभावकको आरोप छ । प्रधानाध्यापक यादवले भने आफूमाथि हातपात भएको भन्दै ५ जनाविरुद्ध मुद्दा दायर गर्नुभएको छ । यी दुई विद्यालय त प्रतिनिधि मात्रै हुन् । धनुषासहित प्रदेश २ का अधिकांश जिल्लाका सामुदायिक विद्यालयमा कुनै न कुनै समस्याका कारण पठनपाठन प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *