समाज

केपी ओलीको क्षेत्रमा ‘भ्यू टावर’, कहिले सकिन्छ काम ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते १६:५५
केपी ओलीको क्षेत्रमा ‘भ्यू टावर’, कहिले सकिन्छ काम ? (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ विराटनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘भ्यू टावर’ निर्माण सम्पन्न गरिसक्ने समय अबको एक महिना मात्र बाँकी छ । तर भ्यु टावर निर्माणको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमकमा डेढ अर्बभन्दा बढी लगानीमा दुई वर्ष अघि ‘भ्यू टावर’ निर्माणको काम शुरु भएको थियो । संघीय सरकारका ठूला योजना हेर्ने कार्यालय सघन शहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार हालसम्म भ्यू टावरमा ६० करोड खर्च भइसकेको छ। तर, भ्यू टावरको जग नै निर्माणाधीन छ। भ्यु टावर निर्माणको जिम्मा आशिष ओम साइराम कन्ष्ट्रक्शन प्रालिले लिएको छ।

निर्माण कम्पनीले भ्यु टावर निर्माण सम्पन्न गर्ने सम्झौता अब एक महिना बाँकी रहँदासम्म भ्यु टावर निर्माणको भौतिक प्रगति ५० प्रतिशत र बजेट ६० प्रतिशत खर्च भईसकेको छ । कम्पनीले कोरोनाका कारण काम गर्न नसकिएको भन्दै बाँकी रहेको संरचना निर्माणका लागि १५ महिना समय थप गराउने तयारी गरिरहेको छ ।

निर्माण कम्पनीका अनुसार भ्यू टावरको बेसभन्दा मुनि २२, ३८ र ४६ मिटरका खम्बा गाडिएको छ । त्यसमा अहिलेसम्म भ्यु टावरको ८ तला निर्माण गर्ने काम पुरा भएको छ । भ्यू टावरका लागि अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको थियो।

सरकारले भ्यू टावरलाई राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा राखेको छ। चालू आर्थिक वर्षमा पनि संघीय सरकारबाट ४० करोड रुपैयाँ नै विनियोजन भएको छ। प्रधानमन्त्री ओलीले आफ्नै पहलमा दमक नगरपालिका वडा नम्बर ३ ढुकुरपानीमा ‘भ्यू टावर’लाई राष्ट्रिय महत्वको योजनामा पारी बजेट विनियोजन गराउनु भएको थियो । भ्यू टावरको कुल लागत १ अर्ब ५६ करोड १८ लाख छ ।

भ्यू टावरको नाम ‘फाल्गुनन्द’ रहने छ। टावर १०० मिटर अग्लो ३० तलाको हुनेछ। यसैमा ८ तलाको स्टिल टावर पनि रहने छ। तर, त्यो स्टिल टावरसम्म भने जान सकिँदैन। १८ तलासम्म मानिस जानसक्ने गरी डिजाइन गरिएको छ। २१ हजार १९७ स्क्वायर फुट जमिनमा भ्यू टावर उठाइने भ्यू टावरका लागि पाँच बिघाका जग्गा छुट्याइएको छ।जस मध्ये ८ कट्ठा क्षेत्रफल भ्यु टावरले ओगट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *