समाज

जन्मको खुसियाली र मृत्युको शोक एकैपटक मनाइने पर्व वाडाङ्‍मेट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते १८:२८
जन्मको खुसियाली र मृत्युको शोक एकैपटक मनाइने पर्व वाडाङ्‍मेट (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ धनकुटा । धनकुटा नगरपालिका मुख्य थलो रहेको आठपहरियाहरु यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्‍मेट मनाउन व्यस्त छन् ।

आठपहरिया राईको वर्ष भरिमा परेको मृत्यु शोकबाट सामूहिक रुपमा उकास्ने यो एक मात्र पर्व हो । यही पर्वमा परिवारका सदस्य थपिएको खुसियालीमा हर्षबढाइ समेत हुने गरेको छ ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोबास रहेको आठपहरियाहरुको मुख्य चाड हो वाडाङ्मेट । वाडाङ्मेटलाई उनीहरुले बरखीबाट उक्सिने तथा परिवारका सदस्य थपिएको खुसीयालीमा हर्षबढाइ गरी दुबै रुपमा मनाउने गरेका छन् ।

वर्षभरिमा मृत्यु हुनेका परिवारका सम्पूर्ण सदस्य तीन दिन लगाएर धनकुटाबाट हिँडेरै सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरि बराह भगवानको दर्शन गरेर बरखी फुकाउने चलन छ ।

यो चाडमा आफन्तको दुख बोक्नेले कपाल काटेर दारीसहित केश बगाउने चलन छ । तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नु पर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन छ ।

बराहक्षेत्रबाट फर्किएपछि दुख विर्सिन भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाच्ने तथा राँगाको मासु, कुबिन्डो र फिलुंगेको अचार लगायत परिकार खाने प्रचलन छ ।

त्यस्तै परिवारका सदस्य बढेको खुसीयालीमा आफन्त भेला भई हर्षबढाइ समेत यहि चाडमा गरिन्छ । मौलिकता बोकेको छ यो चाड अहिले विस्तारै लोप हुँदै जान थालेको छ ।

आधुनिकतासँगै यो चाड पनि मासिने हो कि भन्ने चिन्ता आठपहरिया समुदायमा छ । आठपहरिया समुदायका अगुवालाई चाडको मौलिकता जोगाई राख्न चुनौती छ ।

कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंसीसम्म जारी रहन्छ । धनकुटा नगरपालिका मुख्य थातथलो भई बिभिन्न क्षेत्रमा बसोवास गर्ने आठपहरियाको संख्या करिब २० हजारको हाराहारीमा मात्र छ । यो जातिले आफूलाई आदिबासी जनजातीमा सुचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *