एन्फा र लीग फूटबलमा आवद्ध रेफ्रीबीच सहमति
![एन्फा र लीग फूटबलमा आवद्ध रेफ्रीबीच सहमति](https://www.himalayatv.com/wp-content/uploads/2021/01/anfa.jpg)
१७ मंसिर २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा) र लीग फुटबलमा आबद्ध रेफ्रीबीच सहमती भएको छ ।
फिटनेस परीक्षणको विषयलाई लिएर सहिद स्मारक ए डिभिजन लीग खेलाइरहेका १० रेफ्रीले एन्फा समक्ष सामूहिक राजीनामा दिएका थिए । लीगका दौरान फिटनेस टेष्ट लिने एन्फाको निर्णय व्यवहारिक नभएको भन्दै रेफ्रीहरुले राजीनामा दिएका थिए ।
रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच गए रातिनै छलफल भएको थियो । छलफलमा रेफ्रीको फिटनेस टेष्ट लीगको विश्रामको समय गर्ने सहमति भएसँगै रेफ्रीहरु मैदान फर्कन तयार भएका हुन् ।
पछिल्लो सहमतिसँगै सामूहिक राजीनामा दिएका रेफ्री मैदान फर्कन तयार भएका छन् । उनीहरु आज शुरु हुने लीगको तेस्रो चरणको खेलमा मैदानमा देखिनेछन् ।
अन्तर्राष्ट्रिय नियम अनुसार रेफ्रीले तीनतीन महिनामा फिटनेस टेष्ट दिनुपर्ने व्यवस्था छ । तर लीगको दौरान फिटनेस टेष्ट दिँदा आफुहरुले चोट बोक्नुपर्ने र प्रतियोगिता सञ्चालन गर्न मानसिक र शारीरिक रुपमा समस्या हुने रेफ्रीको गुनासो छ ।
रेफ्रीको मुख्य समस्या भारतीय मूलका रेफ्री डिरेक्टर गौतम कौरसँग रहँदै आएको छ । नेपाली रेफ्री निर्देशक कौरसँग असन्तुष्ट छन् ।
लीगकै दौरान फिटनेस टेष्ट गराउने एन्फा र रेफ्री निर्देशकको निर्णयप्रति असन्तुष्टि जनाउँदै हिजो फिफा रेफ्री र असिस्टेन्ट रेफ्रीले सामूहिक राजीनामा दिएका थिए ।
प्रतिक्रिया