खेलकूद

ए डिभिजन लीग : दोस्रो चरणको समाप्तीमा केही अप्रत्यासित नतिजा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १६ गते ६:३६
ए डिभिजन लीग : दोस्रो चरणको समाप्तीमा केही अप्रत्यासित नतिजा (भिडियो रिपोर्टसहित)

१६ मंसिर २०७८ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीगको तेस्रो चरणका खेलहरु शुक्रबारदेखि हुँदैछन् । दोस्रो चरणको समाप्तीमा लीगकै केही हेभिवेट खेल हुँदा अप्रत्यासित नतिजा पनि निस्किए ।

सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी अपराजित छ भने अर्को बलियो दाबेदार थ्रीस्टार दोस्रो चरणमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध भयो ।

दोस्रो चरणको समाप्तीमा लीगकै सर्वाधिक सफल ८ पटकको च्याम्पियन मनाङ एक मात्र शतप्रतिशत विजेता टोली बनेको छ । नवौं उपाधि जित्ने लक्ष्यमा रहेको मनाङले पहिलो चरणमा जावलाखेल युथ क्लब र दोस्रोमा हिमालय शेर्पालाई समान १९० गोलले हराएको हो ।

मनाङ ६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । यता, अर्को दाबेदार थ्रीस्टारले भने लिगमा शान्दार सुरुवात गरेपनि दोस्रो खेलमा अप्रत्यासित हार व्यहोर्यो । पहिलो खेलमा च्यासललाई ३–० ले हराएको थ्रीस्टार दोस्रो चरणको पहिलो खेलमा नव प्रवेशी सातदोबाटोसँग १०० गोलले स्तब्ध बन्यो । यससँगै सातदोबाटोले लिगकै कान्छो टोली भएपनि आफुलाई अब्बल साबित गर्‍यो ।

दुई खेलसम्म अपराजित सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोल रहित बराबरी खेलेको थियो । यस चरणको अन्तिम खेलमा साबिक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल भएको थियो । जसलाई यो संस्करणकै महत्वपूर्ण मानिएको थियो। तर दुवै टोलीबाट अपेक्षाकृत प्रदर्शन भएन र खेल गोल रहित बराबरीमा सकियो ।

अहिलेसम्म मनाङ बाहेक अन्य ५ टोली अपराजित रहँदा सबैले एक जित र एक बराबरी खेल्दै ४ अंक जोडेका छन् । जसमा क्रमशः संकटा, ब्रिगेड ब्वाइज, मछिन्द्र, नेपाल पुलिस र सातदोबाटो छन् । थ्रीस्टार र च्यासलले १ जित र १ हारको नतिजा निकाल्दा अन्य कुनै पनि टोलीले जित हात पार्न सकेक छैनन् । यसमा दुवै खेल गुमाएका एपिएफ र जावलाखेल बिना कुनै अंक रेलिगेशन जोनमा छ । कान्छो विभागीय टोली यस पटक पनि लिगमा कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

पहिलो चरणमा कुल १६ गोल भएको लिगको दोस्रो चरणका सात खेलमा एक गोलको औसतले सात गोल मात्र भएको छ । जसमा जावलाखेलले अहिलेसम्म कुनै गोल गर्न सकेको छैन । भएका गोल पनि अधिकांश मिडफिल्डरबाट भएका छन् । स्ट्राइकरबाट गोल गर्नेमा मनाङका ओलावाले आफिज र संकटामा फोडे फोफाना मात्र रहे ।

१४ खेलसम्म कुल ४३ पहेँलो कार्ड देखाइएको छ । दोस्रो चरणमा मात्र २१ पहेँलो कार्ड दिईएको छ । हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राई र मछिन्द्रका पदाधिकारी नवीन श्रेष्ठ पनि यसको भागिदार बने ।

रेफ्रिले रातो कार्ड भने एक पटकमात्र झिकेका छन् । तर लागातार दुई पहेँलो कार्ड पाएका पुलिसका हेमन्त श्रेष्ठ, एनआरटीका आन्द्रे थिएरी र मछिन्द्रका आन्द्रेस निआले अब हुने एक खेल गुमाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्