समाज

धावनमार्गमा विमान पटक-पटक जनावरसँग ठोक्किएपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते १८:१९
धावनमार्गमा विमान पटक-पटक जनावरसँग ठोक्किएपछि…(भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७८ बाँके । नेपालगञ्ज विमानस्थलको धावन मार्गमा एक महिना भित्रमै ३ पटक विमान जनाबरसँग ठोक्किएर दुर्घटना भएको छ । कार्तिक १३ गते बुद्ध एयरको विमान दुम्सीसँग ठोक्कियो ।

त्यसको दुई दिन पछि कार्तिक १५ गते सिता एयरको बिमान बदेलसँग ठोक्कियो । त्यस पछि मंसिर ८ गते बुद्ध एयरको विमानमा स्यालसँग ठोक्कियो । विमान स्थल परिसरमा रहेको झाडी सफाई नहुँदा जनावरसँग विमान ठोक्किने घटना दोहोरिने गरेको छ ।

नेपालगञ्ज विमानस्थल क्षेत्र बस्ती र जंगलसँग जोडिएको छ । नजिकका बस्तीबाट स्थानीयबासिन्दा विमानस्थलको तारबार काटेर घास दाउरा गर्न बिमानस्थल परिसरको झाडीमा जान्छन । मान्छे पस्नका लागि तारजाली काटेर बनाएको बाटोबाट जंगली जनावर विमानस्थल परिसरको झाडीमा पसेर त्यहि नै बस्ने गरेका छन ।

विमानस्थल परिसरको झाडी नै ती जनावरको बास स्थान बनेका कारण विमान उडान र अवतरणका बेला धावनमार्गमा जंगली जनाबरसँग ठोक्किएर दुर्घटना हुने गरेको छ । बिमानस्थल परिसरको झाडी सफाई गर्न बजेटको अभाव भएको नेपालगन्ज बिमानस्थल कार्यालयले जनाएको छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट असार मसान्त मै पास हुनु पर्ने हो । तर त्यति बेला सरकार परिवर्तन भई मन्त्रिपरिषद बिस्तारमा ढिलाई हुँदा बजेट पास हुन सकेन । प्रेम आले पर्यटन मन्त्री नियुक्त भएको डेढ महिना बिते पनि प्राधिकरणको बजेट पास भएको छैन ।

बजेट पास नहुँदा नेपालगन्ज विमान स्थल परिसरको झाडी सफाई गर्न सकिएको छैन । विमानस्थल परिसरको झाडी सफाईमा ढिलाई भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरेर कार्तिक १६ र १७ गते नेपालगन्ज विमानस्थलको झाडी सफाइ गरिएको थियो ।

नेपालगन्ज बिमानस्थल १ सय १० हेक्टर क्षेत्रमा फैलिएको छ । विमान्थलको रनवेको लम्बाई १ हजार ५ सय ५ मिटर र चौडाई ३० मिटर छ ।

दुर्घटनाको जोखिम कम गर्न सुरक्षाकर्मीहरुले धाबन मार्ग नजिकको झाडी सफाई गरे पनि विमानस्थल परिसरको झाडी सफा गर्न खासै पहल भएको छैन । दैनिक करिब ५० वटा उडान र अबतरण भई सरदर १ हजार ५ सय यात्रुले हवाई यात्रा गर्ने नेपालगन्ज बिमान स्थलको झाडीको सरसफाई बजेटको अभाबका कारण हुन नसक्नु बिडम्बना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *