आर्थिक

पुष्प व्यवसायले पुरानै लय लिन एक वर्ष लाग्ने

हिमालय टिभी
२०७८ मंसिर १४ गते ६:५६
पुष्प व्यवसायले पुरानै लय लिन एक वर्ष लाग्ने

१४ मंसिर २०७८ काठमाडौं । कोरोना महामारी केही कम भएसँगै अन्य व्यवसायले बिस्तारै लय समाति सकेका छन् । पुष्प व्यवसायले भने पुरानै लय लिन अझै एक वर्ष लाग्ने बताइएको छ ।

कोरोना भाइरसका कारण पुष्प व्यवसायले दैनिक रु एक करोडसम्मको नोक्सान सामना गर्नुप-यो । अहिले विस्तारै व्यवसाय सञ्चालनमा आए पनि महामारी सुरु हुनुपूृर्वको जस्तो बजारमा चहलपहल हुन सकेको छैन । भर्खर चाडबाड सकिएको छ । अहिले विवाहको मौसम हुँदा पनि आशाअनुरुप फूलको कारोबार हुन सकेको छैन । त्यसैले १६ महिनाअघिको यस व्यवसायले लय समात्न ६ महिनादेखि एक वर्षको समय लाग्ने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारी अझै हटेको छैन । विश्वासका साथ व्यवसायीले यस क्षेत्रमा लगानी बढाउन पाएका छैनन् । लामो समयसम्म व्यवसाय चलायमान गर्न नपाएपछि २५ प्रतिशत व्यवसायी अन्य पेसामा पलायन भइसकेका छन् ।” कोरोना सुरु हुनुभन्दा पहिले असोजदेखि फागुनसम्म फूल उत्पादन र बिक्री वितरण हुन्थ्यो । विश्वभर फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले डेढ वर्षदेखि पर्याप्त आम्दानी गर्न सकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य व्यवसाय सञ्चालनमा आउँदा पनि यस व्यवसायले गति समात्न अझै नसकेको अध्यक्ष तामाङ बताउनुहुन्छ ।

कोरोना अघि सामान्य समयमा दैनिक रु एक कारोडभन्दा बढी फूलको कारोबार हुने गरेको थियो । गत जेठ–असारमा कोरोना उच्च विन्दुमा पुग्दा मुस्किलले रु दुई लाखमा मात्र चित्त बुझाउनु परेको अध्यक्ष तामाङ सम्झनुहुन्छ । हरेक वर्ष रु तीन अर्बको कारोबार गरिरहेको उक्त व्यवसायले गत आर्थिक वर्षमा रु एक अर्ब ६५ कारोड मात्र कारोबार गरेको थियो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा २००७ सालदेखि सुुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *