राजनीति

कांग्रेसको निर्वाचन समितिलाई कामको यस्तो चाप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १३ गते २०:४२
कांग्रेसको निर्वाचन समितिलाई कामको यस्तो चाप (भिडियो  रिपोर्टसहित)

१३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्न यसै पनि भ्याइनभ्याई छ । केन्द्रीय महाधिवेशनको मुखैमा संयोजक बरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि थप चुनौति खडा भएको छ ।

नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिको महत्वपूर्ण भूमिका छ । निर्वाचन गराउने मात्रै नभएर अन्य वैधानिक प्रक्रिया पूरा गराउनुपर्ने दायित्व समितिलाई छ ।

क्रियाशील सदस्यता विवादका कारण विभिन्न जिल्लाको अधिवेशन समयमै सम्पन्न हुन नसकिरहेको अवस्थामा समितिका संयोजक बरिष्ठ अधिवक्ता महादेव यादवले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभयो ।

केन्द्रीय महाधिवेनको मुखैमा यादवले राजीनामा दिएपछि समितिमै सदस्यको रुपमा रहेर काम गर्दै आउनु भएका बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ । घिमिरेले समितिमा लामो समयदेखि काम गरेकाले आफूसँग अनुभव रहेकाले महाधिवेशन सम्पन्न गर्न कठिन नहुने दाबी गर्नुभयो ।

संयोजक घिमिरेका अनुसार सोमबार सम्म ५० भन्दा बढि जिल्लामा अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश दुईका ६ जिल्लामा पनि सोमबारसम्म अधिवेशन सम्पन्न हुने चरणमा पुगेको छ ।

त्यस्तै अधिकांश जिल्लामा केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेशसभा प्रतिनिधि चयन भैसकेकाले अब कार्यतालिकामा कुनै परिवर्तन नहुने घिमिरेको भनाइ छ । तर समय घर्कर्दै गएकाले समय व्यवस्थापनमा भने चुनौति छ ।

सोमबार मात्रै संशोधित तालिका अनुसार मंसिर १८ र १९ मा प्रदेशसभा अधिवेशन हुँदैछ । यसका लागि केन्द्रीय निर्वाचन समितिले काम तीव्र पारेको छ।

निर्धातिर कार्यतालिकाअनुसार आगामी मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशनको प्रक्रिया शुरु हुनेछ । विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन भने बाँकी छ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा ४५ सयदेखि ५ हजारको संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान छ । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्मका लागि तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्