राजनीति

एमाले महाधिवेशन: ओलीलाई नेतृत्व छन्नै सकस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १२ गते २०:२७
एमाले महाधिवेशन: ओलीलाई नेतृत्व छन्नै सकस (भिडियो रिपोर्टसहित)

१२ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनबाट सहमतिमा नेतृत्व छान्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । तर आकांक्षी धेरै भएपछि र एउटै पदमा धेरैको दाबी परेपछि अध्यक्ष ओलीलाई सहमति गरेर नेतृत्व छान्न सकस परिरहेको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नेतृत्व चयन गरेर नेकपा एमालेको १० औं महाधिवेशन आइतवार सकिनु पर्ने थियो । तर आइतवार नेतृत्व चयन हुन सकेन । खास गरी नेताहरुको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ ।

सहमतिमा नेतृत्व चयन गर्ने सर्वाधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ तर अध्यक्ष ओलीकै विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका भीम रावल ओलीका लागि टाउको दुखाई बन्नु भएको छ ।

भीम रावलसंगै अर्का नेता घनश्याम भुसाल पनि उभिनु भएको छ । उहाँ पनि निर्वाचन गराउनुपर्ने अडानमा हुनु हुन्छ । पहिले माधवकुमार नेपालको पक्षमा रहेका नेताहरु मात्रै नभएर ओलीका लागि आफैंले काखी च्यापेका नेताहरु पनि टाउको दुखाइ बनेका छन् ।

विश्वासपात्र सुवासचन्द्र नेम्वाङको अध्यक्ष पछिको बरिष्ठ उपाध्यक्ष पद पाउनु पर्ने अडानका कारण ओलीलाई अफ्टेरो परेको छ । ओलीले बरिष्ठ उपाध्यक्ष पदमा महासचिव ईश्वर पोखरेललाई ल्याउन चाहेको जानकारहरु बताउँछन् । तर यसमा नेम्वाङ सहमत हुनु हुन्न ।

यदि बरिष्ठ उपाध्यक्ष पद आफूले नपाउने हो भने निर्वाचन गराउनुपर्ने नेम्वाङको भनाइ छ । ६ जना उपाध्यक्ष पदमा ५ जनाको दाबी परेको छ । रामबहादुर थापा बादल, युवराज ज्ञवाली, धनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य र देवराज घिमिरेले उपाध्यक्षमा दाबी गरेका छन् ।

यद्यपि अरु पदमा दावेदारी धेरै रहेकाले उनीहरुको व्यवस्थापनका लागि भएपनि उपाध्यक्षको संख्या अरु बढन् सक्ने पनि संभावना छ । एक मात्रै पद रहेको महासचिवमा पनि चर्को प्रतिस्पर्धा छ । अध्यक्ष ओलीले शंकर पोखरेललाई महासचिव बनाउन चाहानु भएको छ तर यसमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ,प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डे पनि दाबेदार हुन् । ३ सिट रहेको उपमहासचिवमा पनि उस्तै प्रतिस्पर्धा छ ।

सबैभन्दा चर्को प्रतिस्पर्धा ७ सिट रहेको सचिवका लागि छ । यो पदमा २७ जनाभन्दा बढि आकांक्षी रहेको बताइन्छ । ३ सय १ सदस्यीय रहेको केन्द्रीय कमिटीमा भने सहमति जुटिसकेर लिस्ट नै तयार भैसकेको जानकारी दिइएको छ । केन्द्रीय सदस्यमा भन्दा पनि पदाधिकारीको व्यवस्थापन ओलीका लागि मुख्य चुनौति हो । नेताहरुको व्यवस्थापन कसरी हुने छ त्यो थाहा पाउनका लागि केही समय कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्