खेलकूद

युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

हिमालय टिभी
२०७८ मंसिर १२ गते १६:२३
युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

१२ मंसिर २०७८ काठमाडौं । अन्तिम खेलमा घरेलु टोली युएईसँग ४८ रनको फराकिलो अन्तरले हार्दै नेपाल आइसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नबाट बञ्चित भएको छ ।

छनोटको अन्तिम खेलमा रनरेट सुधार सहित जितको आवश्यकता रहेको नेपाल युएईविरुद्ध कमजोर सावित हुँदा फेरि एक पटक एसिया छनोटबाट घर फर्किन बाध्य भयो ।

आईसिसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एसिया छनोट अन्तर्गत अन्तिम खेल अगाडीसम्म ग्लोबल छनोटमा पुग्न ३ टोलीको सम्भावना बाँकी थियो । शत प्रतिशत जितसहित ८ अंक जोडेको युएई तालिकाको शीर्षस्थानमा रहँदा ६–६ अंक जोडेका नेपाल र हङकङ दोस्रो र तेस्रो स्थानमा थिए ।

तर रनरेटमा निकै पछि रहेको हङकङको गणितीय सम्भावना मात्र बाँकी रहँदा अन्तिम खेलमा रनरेट सुधारसहित जितेको खण्डमा अघिल्लो चरण पुग्ने नेपालको सम्भावना कायमै थियो । यस्तोमा कम्तीमा १० बल वा १० रन अगाडीनै जित निकाल्ने लक्ष्यसहित नेपाली टोलीमा मैदानमा उत्रियो ।

आइसिसी एकेडेमी ग्राउन्डमा नेपालले टस जितेर पहिले फिल्डिङको निर्णय गर्यो । पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले पुरै २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो । पहिलो ओभरमै ओपनर ईशा ओजालाई ४ रनमा गुमाएको युएईका लागि अर्का ओपनर थ्रीथा सतिस र काभिसा इगोडागेले ५८ रनको साझेदारी गर्दै पाली सम्हाले ।

थ्रीथाले ४७ र काभिसाले २२ रन बनाउँदा मध्यक्रमकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रन बनाइन् । थ्रीथासँग मिलेर चमानीले आक्रामक ब्याटिङ गर्दा युएईले एक सय रनको आँकडा पार गरेको थियो । त्यसपछि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र संगिता राईले १(१ विकेट लिइन् ।

जितका लागि १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल सुरुवातदेखिनै दबाबमा पर्यो । अघिल्ला खेलमा भन्दा कमजोर देखिएको नेपाल निर्धारित २० ओभर सकिन २ बल अगावै ७९ रन बनाएर अलआउट भयो । नेपालको ब्याटिङ लाइनअप धर्मराउँदा इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो ओभरदेखि विकेट पतन सुरु भएको नेपालका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा युएईकी समायरा धरणीरका एक्लैले ४ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ५ रन खर्चिएकी थिइन् । त्यस्तै, खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ र चया मुगलले १ विकेट लिइन् ।

शतप्रतिशत जित सहित युएई १० अंक सहित तालिकाको शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुगेको छ । नेपाल भने फेरी एक पटक युएईकै मारमा पर्यो । ३ वर्षअघि भएको एसिया छनोटमा पनि नेपाललाई पछि पार्दै युएई ग्लोबल छनोटमा पुगेको थियो । विश्वकपका लागि एसिया छनोटमा सहभागी हुँदै आएको नेपालका लागि थाइल्याण्ड मुख्य तगारोका रुपमा रहँदै आएको थियो ।

थाइल्याण्ड एक दशकदेखि नेपालका लागि समस्या बन्दै आए पनि यस पटक भने युएईले नेपाललाई उछिनेको छ । पहिलो खेलमा हङकङसँग ६ विकेटले हार्नुनै नेपालका लागि घातक साबित भयो । त्यसपछिका खेलमा भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले हराएको नेपाल अन्तिम खेलमा युएईसँग स्तब्ध बन्यो ।

नेपालमै भएको १३ औं साग पछि अन्तराष्ट्रिय प्रतियोगिता खेलेको नेपाली टोलीमा म्याच एक्सपोजर र अनुभवको कमी देखिएको छ । टोलीमा रहेका पुराना खेलाडीहरुको एक पुस्तानै एसिया छनोटबाटै बाहिरीरहँदा नेपाल क्रिकेट संघ क्यानले अब भने दीर्घकालिन योजना सहित अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्