समाज

घोराहीमा घोटाला, गुड्दै नगुडेका गाडीमा इन्धनको बिल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते १८:४७
घोराहीमा घोटाला, गुड्दै नगुडेका गाडीमा इन्धनको बिल (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ दाङ । दाङको घोराही उपमहानगरपालिकाले चल्दै नचलेका गाडीमा इन्धन खर्च भएको झुटो बिल भरपाई पेश गरी लाखौं रकम निकासा गरेको पाइएको छ । चलेका गाडीमा पनि आवश्यकताभन्दा बढी इन्धन राखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

दाङको घोराही उपमहानगरपालिकाको रा १ ग ११ नम्बरको फोहोर उठाउने गाडी अढाई वर्षदेखि बिग्रिएर थन्किएको छ । तर, यो गाडीमा २०७७ असार २६ गतेदेखि साउन २० गतेसम्म साढे सात सय लिटर इन्धन प्रयोग भएको पाइएको छ ।

१ सय ५० लिटरका दरले यो गाडीमा असार २६ गतेदेखि साउन २० गतेसम्म ५ पटक इन्धन राखिएको छ । जवकी यो गाडीमा १ सय ५० लिटर तेल एकै पटक राख्न मिल्ने क्षमताको ट्यांकी पनि छैन । बिग्रिएकै गाडीमा इन्धन प्रयोग भएको तथ्य बाहिर आएपछि गठन गरिएको छानबिन समितिले गरेको अध्ययनले विभिन्न मितिमा इन्धनका नाममा ठूलो रकम घोटाला भएको देखाएको छ ।

उपमहानगरको ट्याक्टर र अन्य गाडीमा इन्धन भरेको झूठो विवरण पेश गरेर तत्कालिन जिन्सी शाखा प्रमुख रहेका एक जना कर्मचारीले पेट्रोल पम्पबाटै २ लाख ५० हजार असुलेको छानबिन समितिले जनाएको छ ।

त्यस्तै एक्साभेटर तथा जेसीबीलगायतका गाडीहरुको इन्धनको फर्जी बिल भरपाई पेश गरी विभिन्न पेट्रोल पम्पहरुबाट १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद बुझेको पाइएको छ । ति कर्मचारी अहिले कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा सरुवा भएका छन् ।

छानबिन समितिले इन्धनमा भएको घोटालाको छानबिन प्रतिवेदन कार्यपालिकालाई बुझाइसकेको छ । अब थप काम कारवाही कार्यपालिकाले नै अघि बढाउने समितिले जनाएको छ ।

२०७७ साउनमा मात्रै २३ लाख ७२ हजार रुपैयाँ बराबरको इन्धन खर्च भएको छ । असोजमा छानबिन समिति गठन भएपछि असोज र कात्तिक महिनाको इन्धन खर्च १४ लाख ५८ हजार मात्र आयो । यसलाई प्रति महिनाको भाग लगाउँदा ७ लाख २९ हजार हुन आउछ । साउन महिनाको खर्चभन्दा असोज र कात्तिकमा प्रति महिना १६ लाख रुपैयाँ भन्दा धेरै खर्च घटेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *