समाज

जिल्ला अस्पताल गुल्मीको भवन जीर्ण, बिरामी मर्कामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ८ गते २०:५१
जिल्ला अस्पताल गुल्मीको भवन जीर्ण, बिरामी मर्कामा (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७८ गुल्मी । जिल्ला अस्पताल गुल्मीको भवन जीर्ण र साँघुरो हुँदा गुल्मीबासीले अस्पतालबाट सोचेजस्तो सेवा लिन सकेका छैनन् । सुविधा सम्पन्न नयाँ भवन निर्माण कार्य शुरु भएपछि भने जिल्लाबासीलाई सहज हुने देखिएको छ ।

अहिले सञ्चालनमा रहेको गुल्मी अस्पतालको भवन सानो छ । अस्पताल नै सेवाग्राही मैत्री नहुँदा वर्षौदेखि सेवाग्राही उपचारका लागि अन्य जिल्ला धाउनुपर्ने बाध्यता पनि कायमै छ । तर अब भने अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गर्दैछ ।

असार १८ गते सम्झौता भइ काम शुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडि बढेको छ। अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जेभी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रुपैयाँमा निर्माण कार्य सुरु गरेको हो । काम तिव्र गतिमा भएकाले तोकिएको समय अगावै काम सक्ने अनुमान ईन्जिनियरको छ ।

गत साउन १५ गतेबाट निर्माणको काम शुरु भएको भवनको १२ प्रतिशत काम सकिइसकेको छ । नयाँ भवन निर्माणले तिव्रता पाएसँगै स्थानीयबासिन्दामा खुसी छाएको छ ।

हाल निर्माणाधीन भवनमा आईसीयु, सर्जिकल, मेडिकल, बाल उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्था हुनेछ । पहिलेको अस्पतालको तुलनामा यो भवन सुविधा सम्पन्न बनाइनेछ । भवन बनेसँगै, अस्पताल चलाउन राम्रो जनशक्ति आए, अस्पतालबाट गुल्मीबासीले राम्रोसँग सेवा प्राप्त गर्न सक्नेछन् ।

गुल्मी अस्पतालको पुरानो भवन पाँच शैयाको मात्रै छ । अब बन्ने भवन ५० शैयाको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *