समाज

३८ करोड हिनामिना गरेको एक सहकारी साढे २ वर्षदेखि बन्द(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ८ गते २०:३१
३८ करोड हिनामिना गरेको एक सहकारी साढे २ वर्षदेखि बन्द(भिडियो रिपोर्टसहित)

८ मंसिर २०७८ नेपालगञ्ज । बचतकर्ताले जम्मा गरेको करिब ३८ करोड हिनामिना भएपछि नेपालगन्जको सहकारी वित्तीय विकास संस्था साढे २ बर्ष देखि बन्द छ । सहकारी बन्द भएपछि ११ हजार ४ सय ८ जना बचतकर्ता जम्मा गरेको रकम फिर्ताका लागि सडक आन्दोलनदेखि प्रहरी प्रशासन र अदालतसम्म धाइरहेका छन् ।

उनीहरुले प्रधानमन्त्रीलाई समेत भेटेर आफ्ना गुनासा सुनाए । तर उनीहरुको समस्या समाधान गर्न कसैले चासो दिएको छैन ।

दैनिक ५० देखि एक सय रुपैयाँसम्म बचत गरेर जम्मा गरेको रकम औषधि उपचार र जरुरी काम परेको बेला समेत नपाउँदा बचतकर्ता समस्यामा परेका छन । आफैँले जम्मा गरेको रकम नपाउँदा औषधि उपचार गर्ने पैसा नभएर सन्तान नै गुमाउनु परेको पीडा समेत केही बचतकर्ताले भोगेका छन् ।

बचतकर्ताको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष, संचालक समितिका सदस्य , कर्मचारीसहित ४१ जनाका पिवरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।

सहकारी घोटालामा संलग्न ४१ जना अभियुक्त मध्ये हाल जिल्ला अदालत बाँकेको आदेशबाट ठगी तथा संगठित अपराध गरेको अभियोगमा ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । बाँकी ३५ जना धरौटीमा छुटेका छन् । तर बचतकर्ताको रकम कहिले फिर्ता आउँछ टुंगो छैन ।

वित्तीय विकास संस्थाका संचालक, कर्मचारी र लेखा परीक्षक गरी ४१ जनाको मिलेमतोमा नक्कली कागजपत्र बनाएर बचतकर्ताहरुले जम्मा गरेको रकम अपचलन र ठगी भएको हो । अदालतको आदेशबाट सम्पत्ती रोक्का गरी कारागार चलान भएका ब्यक्तिले पनि अनेकौ जालझेल गरेर रोक्का भएको सम्पत्ती समेत बिक्री गरेका कारण बचतकर्ताको रकम जोखिममा परेको छ ।

अदालती प्रकृया अनुसार बचतकर्ताको बकपत्र गराउने लगायत काम भइरहेका कारण अदालतबाट यो मुद्दाको फैसला हुन अझै केही महिना लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *