खेलकूद

सेन्ट्रल जोन भलिबलः नेपाली महिला भलिबल टोली बन्द प्रशिक्षणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ८ गते १६:१६
सेन्ट्रल जोन भलिबलः नेपाली महिला भलिबल टोली बन्द प्रशिक्षणमा (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७८ काठमाडौं । बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला भलिबल टोली अहिले बन्द प्रशिक्षणमा छ ।

दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको तयारीमा रहेको साविक विजेता नेपाल उपाधि रक्षा गर्ने अभियानमा छ । यसका लागि प्रशिक्षक जगदीश भट्टले अहिले खेलाडीलाई दैनिक दुई समय प्रशिक्षण गराइरहेका छन् ।

सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि साविक विजेता नेपाली महिला टोली अहिले बन्द प्रशिक्षणमा छ । कोरोनाका कारण अनिश्चित बनेको प्रतियोगिता बंगलादेशमा डिसेम्बरमा हुने पक्का भएपछि दुई सातादेखि टोलीले तयारी थालेको हो ।

पहिलो संस्करण माल्दिभ्सलाई हराउँदै ऐतिहासिक उपलब्धी हात पारेको नेपाल यस पटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । तयारीका लागि छोटो समय पाए पनि अहिले २० जना खेलाडी दैनिक दुई समय प्रशिक्षणमा बिताइरहेका छन् ।

दुई वर्ष अघि बंगलादेशमै भएको पहिलो संस्करणमा नेपाली महिला टोलीले एक सेट पनि नगुमाइकन ऐतिहासिक उपाधि जितेको थियो । त्यस्तै, नेपालमै भएको १३ औं सागमा पहिलो पटक रजत पदक जितेको नेपालले सागमै ३ पटक काँस्य जितिरहेको छ ।

यस कारण पनि महिला टोलीबाट समर्थकले धेरै अपेक्षा राखेका छन् । यसैलाई मध्यनजर गर्दै तयारी गरिरहेको प्रशिक्षक भट्टले बताए । कोरोनाका कारण खेलाडी लामो समय पनि प्रशिक्षणमा आएका कारण सुरुमा फिटनेशमा केहि समस्या भएपनि अहिले लयमा आउँदै छन् ।

प्रतियोगितामा यस पटक केही नयाँ टोलीको सहभागिता रहने बताइएको छ । ति टोलीहरु पनि नेपालकै स्तरमा रहेको उनको भनाइ छ । नेपाललाई पहिलो उपाधि दिलाएका भट्ट यस पटक पनि उपाधि जित्ने लक्ष्य सहित बंगलादेश जाने बताउँछन् । तर पर्याप्त तयारी र अभ्यास खेलको अभाव खड्किएको उनको गुनासो छ ।

४ वर्ष अघि राष्ट्रिय खेल घोषणा भएको भलिबलले पछिल्लो समय नतिजा पनि राम्रो निकालिरहेको छ । तर यस पटक श्रीलंका र उज्वेकिस्तान पनि प्रतियोतिगामा सहभागी हुँदैछन् ।

श्रीलंकासँग यसअघि पनि खेल्दै आएपनि उज्वेकिस्तान नेपालका लागि नयाँ प्रतिद्धन्दी हो । सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपकै लागि पुरुष टोली पनि तयारीमा जुटिरहँदा धेरैको ध्यान भने महिला टोलीको प्रदर्शनमाथि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्