आर्थिक

दलहरुका महाधिवेशन खर्चिलो र भड्किलो बन्दै, पारदर्शितामै प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते २०:४४
दलहरुका महाधिवेशन खर्चिलो र भड्किलो बन्दै, पारदर्शितामै प्रश्न (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । मुख्य राजनीतिक दलहरु अहिले महाधिवेशनमा केन्द्रित छन् । पार्टीको नीतिमा बहस र छलफलसँगै आन्तरिक नेतृत्व चयन हुने भएका कारण महाधिवेशन सदस्यहरुका लागि ठूलै पर्व हो । तर पछिल्लो समय दलहरुका महाधिवेशन खर्चिलो र भड्किलो बन्दै गएको छ। जसका कारण खर्चको पारदर्शितामै प्रश्न उठ्न थालेको छ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) देखि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी यतिवेला महाधिवेशनमा केन्द्रित छन् । एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनको सौराहामा हुँदै छ । कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ ।

राप्रपाले मंसिर १५ देखि १७ सम्म र माओवादी केन्द्रले पुस ११ देखि १३ सम्म काठमाडौँमै महाधिवेशन गर्दै छन् । नेकपा एमालेको महाधिवेशनका लागि सौराहमा प्रतिनिधिहरुको बसोबासका लागि होटलको ३६ सय कोठा बुक गरिएको छ ।

एक दिनका लागि प्रयोग उद्घाटनस्थलको स्टेज निर्माणका लागि मात्रै ५० लाख रुपैयाँ खर्च हुनेछ । समग्रमा एमाले महाधिवेशनमा करिब साढे सात करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

एमाले मात्र होइन, अरु दलका महाधिवेशन खर्चमा पनि कम हुने देखिदैन । कांग्रेसको तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि, माओवादीमा झन्डै एक हजार छ सय र राप्रपामा झन्डै २९ सय महाधिवेशन प्रतिनिधि सहभागी काठमाडौंमा उपस्थित हुनेछन् । उनीहरुका लागि आवश्यक पर्ने भोजन, आवास, सजावटका लागि करोडौं खर्च हुनेछ । दलहरुको यस्तो तडकभडकले बजार मूल्य बढाउने छ भने मुलुकमा भूमिगत अर्थतन्त्र बढ्न जानेछ ।

दलहरु आफ्नो मूल्यमान्यता र सिद्धान्तका आधारमा मानिसहरुलाई आफूतिर आकर्षित नसकेपछि अरुभन्दा अब्बल देखाउन महाधिवेशनलाई खर्चिलो र भड्किलो बनाउने गरेको विज्ञ बताउँछन् ।

जनताको हित र सुशासनको गफ गरेर नथाक्ने नेताहरुले आफ्नो महाधिवेशनमा गर्ने खर्च र अपनाउने भड्किलो शैलीले सबैलाई आश्चर्यमा पर्ने गरेको त छ नै जीवनभर ‘फूल टाइम’ राजनीति गरेका नेताहरुको यो खर्चको स्रोत के होला भनेर सोच्न बाध्य समेत पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *