पृथ्वी राजमार्गः बिग्रिएर रोकिएका गाडीका कारण दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)
७ मंसिर २०७८ धादिङ । गत वर्ष पृथ्वी राजमार्गमा बिग्रिएर रोकिएका गाडीमा ठोक्किएर भएका दुर्घटनामा पाँच जनाको ज्यान गयो । ८ जना घाइते भए । बिग्रिएका गाडी तत्काल हटाउन उपकरणको अभाव छ । त्यसैले गर्दा दुर्घटना हुने र ट्राफिक जामको समस्या पनि हुने गरेको छ ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा अहिले पनि बिग्रिएका सवारी साधन सडक किनारमै छन् । सडक दुर्घटनाका कारणमध्ये बिग्रिएर सडक किनारमै रहेका सवारी साधन पनि हुन् ।
राजमार्गमा रोकिराखेका सवारी साधनमा ठोक्किएर भएका दुर्घटनामा गत वर्ष मात्रै पाँच जनाको मृत्यु भयो । र्याकरको अभावमा बिग्रिएका सवारी सधान समयमै हटाउन नसकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
साना हल्का सवारी साधन स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोगबाट हटाउन सकिए पनि ठूला र बढी लोड भएका सवारी साधन हटाउन समस्या हुने गरेको छ ।
उकालो सडकमा बिग्रने सवारी साधनले त झन बढी सास्ती दिने गरेको छ ।
बिग्रिएका सवारी साधनकै कारण नागढुंगा क्षेत्रमा प्राय जसो जाम हुने गरेको छ । राजमार्गमा बिग्रिएर रोकिने गाडीहरु तत्काल हटाउन आधुनिक उपकरण सहितको जनशक्तिको व्यवस्था तत्काल गर्नु पर्ने देखिएको छ ।
प्रतिक्रिया