राजनीति

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते १७:५६
शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ ।

आज पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उहाँले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताउनुभयो । उहाँले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा जतिपनि पार्टीहरु छन् । सबै शिक्षकहरुकै योगदानका कारण छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरुलाई जनताको विचमा लैजाने शिक्षकहरु नै हुन् । अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन । त्यसकारण म त के भन्छु भने शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ ।’

अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताउनुभयो । शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ । तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारणपनि त्यही हो । नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईहरु पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको । तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहीँ नबुझ्नु होला ।’

अध्यक्ष प्रचण्डले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दावी गर्नुभयो । उहाँले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको आरोप समेत लगाउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले मधेशमा पनि फेरि एकचोटी माओवादीको पक्षमा जनतामा एउटा लहर आउन खोज्दैछ । बुद्धिजिवीमा लहर आउन खोज्दैछ । थुप्रै गज्याङमज्याङ छ पार्टी भित्र तर पनि जनता चाहीँ क्लियर छन् । जनता अब नेतृत्वको बारेमा पनि क्लियर छन् । लाइनमा पनि क्लियर छन् । महन्थ र राजेन्द्र महतोलाई धन्यवाद भनेको छु । तपाईहरु केपी ओलीको अगाडी आत्मसर्मपण गरेर माओवादीलाई धेरै ठुलो गुन लगाउनुभयो । धेरै ठुलो सहयोग गरिदिनुभयो । किनकी नेपालमा संघीयताविरोधी, मधेसी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले चाही बुझ्यो । नेताहरुले उसैको अगाडी आत्मसर्मपण गर्देर जनतालाई अझ छ्याङ्ग हुन मद्दत ग-यो ।’

अध्यक्ष प्रचण्डले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्