निर्माणाधीन सडक तयार नहुँदै जीर्ण, दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ दाङ । दाङलाई छिमेकका पहाडी जिल्ला जोड्ने मुख्य सडक मात्र हैन, दाङ्ग भित्रकै निर्माणाधीन अरु सडक पनि तयार नहुँदै जीर्ण बनेका छन् ।
दाङको घोराहीलाई रोल्पाको होलेरी, घोराहीलाई मुर्कुटी हुँदै प्युठान र तुलसीपुर हुँदै सल्यान जोड्ने मुख्य सडक जीर्ण बन्दै गएको छ । नियमित मर्मत र गुणस्तरीय कालोपत्रे नहुँदा सडक जीर्ण बन्दै गएको हो । जीर्ण सडक र सवारी चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढेको छ ।
घोराहीदेखि होलेरी जोड्ने शहीद मार्गमा गरेको कालोपत्रे उप्किएको छ । त्यसैगरी, घोराहीदेखि प्युठान देवीस्थान जोड्ने मदन भण्डारी लोकमार्गको कालोपत्रे पनि उप्किँदै गएको छ ।
घोराही–होलेरी र घोराही–मुर्कुटी सडकखण्ड चुनढुंगा बोक्ने टिप्परका कारण जीर्ण बनेको हो । यो सडकमा करोडौं रुपैयाँ लगानी गरेर कालोपत्रे गरे पनि महिना दिनमै उप्किएपछि अहिले सडक जोखिमयुक्त बनेको छ ।
तुलसीपुरदेखि सल्यान जोड्ने राप्ती लोक मार्ग पनि निकै जीर्ण बनेको छ । पटक पटक खस्ने पहिरो र समयमा मर्मत नहुँदा राप्ती लोकमार्गको यात्रा पनि निकै जोखिम पूर्ण बनेको छ ।
सवारी चालकको लापरवाही तथा जीर्ण सडककै कारण दाङका विभिन्न स्थानमा पटक पटक दुर्घटना हुने गरेको छ ।
सडक सुधारका लागि सडक डिभिजन कार्यालयले चासो नदिदा यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । तर सडक विभाग कोरोना महामारीका कारण सडक सुधारका काममा ढिलाइ भएको तर्क गर्छ । अब सडक सुधारको काम अघि बढ्ने दाबी गर्छ ।
दुर्घटना हुँदा सडक सुधार गर्नुपर्ने बहस चर्को रुपमा उठ्ने गरेको छ । तर घटना सेलाउन थालेसँगै चासो र चिन्ता पनि हराउँदै जान्छ । काम गर्ने भनेर आएका प्रशासन प्रमुखले पनि काम गर्छु भनेर योजना बनाउन नपाउँदै सरुवा भएर जान्छन र फेरी काम अलपत्र पर्ने गर्छ । आखिर कहिलेसम्म सरकारको गैरजिम्मेवारीपनको शिकार आमनागरिक बन्नु पर्ने हो ?
प्रतिक्रिया