समाज

मोहनापुल–अत्तरिया सडक आयोजना : म्याद थपेको थप्यै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते १७:०७
मोहनापुल–अत्तरिया सडक आयोजना : म्याद थपेको थप्यै (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ धनगढी । साढे ४ वर्षदेखि निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकआयोजनाका लागि चौथो पटक म्याद थप गरिएको छ ।

२०७४ जेठमा २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी छुट्टाछुट्टै तीन वटा प्याकेजमा निर्माण सम्झौता गरिए पनि चार वर्ष वितिसक्दा पनि निर्माणको काम सकिएको छैन । जसका कारण पछिल्लो पटक आगामी चैत मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

आयोजनाको चौथो पटक म्याद थप भए पनि दसैंपछि काम शुरु हुन सकेको छैन । निर्माण कम्पनीलाई ९० प्रतिशत भुक्तानी गरिसक्दा पनि निर्माण कार्य अधुरै छ । धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिटर सडकअन्तर्गत पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर, दोस्रो खण्डअन्तर्गत बोराडाँडी–गेटा साढे ४ किलोमिटर र तेस्रो खण्डअन्तर्गत गेटा–अत्तरिया गरी तीन प्याकेजमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो । पटक पटक म्याद थप गरेरपनि सडक समयमै सम्पन नभएको भन्दै स्थानीयबासिन्दा आक्रोसित छन् ।

सडक योजना कार्यालयले ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ । बाँकी काम चैत मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप गरिएको योजना कार्यालयले जनाएको छ ।

सुरुमा सडकमा परेका घर नभत्काउन केही घरधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारण ढिलाइ भएको थियो । त्यसपछि विद्युतका पोल सार्ने काम र रुख कटानमा भएको ढिलाइका कारण निर्माण कार्य प्रभावित बनेको योजना कार्यालयको दाबी छ ।

एक अर्ब ७८ करोड लगानी रहेको मोहनापुल–अत्तरिया ६ लेन सडकका लागि अन्तिम पटक म्याद थप गरिएको समयमा रेलिङ, डिभाइडर, ट्राफिक लाइट लगायतको काम पुरा गर्ने आयोजनाको तयारी छ । नालीसहित दुई मिटर चौडा फुटपाथ र न्यूनतम साढे ३ मिटर चौडाइको सर्भिस लेन निर्माण पनि अब चाडै गर्ने आयोजनाले जनाएको छ ।

२ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सडक चार वर्ष वितिसक्दा पनि सम्पन हुन सकेको छैन्, भने अर्को तिर निर्माण सम्पन भएको सडकमा पनि व्यवस्थित पार्किङ नहुदाँ दुर्घटना बढेको छ ।

आधुनिक तथा स्तरीय सडक निर्माण पछि सडकमा निर्धक्क रुपमा यात्रा गर्ने पाइन्छ भन्ने आशामा बसेका यस क्षत्रेका नागरिकले बरु अहिले सम्म १० जना भन्दा बढी लाई यसै सडक दुर्घटनामा गुमाए । यसको जिम्मेवारी कसले लिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *