टी–२० महिला विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित
![टी–२० महिला विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित](https://www.himalayatv.com/wp-content/uploads/2021/11/mahila-cricket.jpg)
६ मंसिर २०७८ काठमाडौं । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल आज हङकङसँग ६ विकेटले पराजित भएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा भेट्टायो । हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् ।
कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन जोडिन् । नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
नेपालकी सीता राना मगर ४० रनमा अविजित रहिन् । त्यस्तै इन्दु वर्मा ३१ र काजल श्रेष्ठले ४ रन जोडे । कप्तान रूबिना क्षेत्री २ रनमा नटआउट रहिन् भने कविता कुँवरले खाता नै खोल्न सकिनन् ।
नेपालले २७ रन अतिरिक्तको रुपमा पाएको थियो । विश्वकप एसिया छनोटमा छ टोली सहभागी छन् । छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।
छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भोलि भुटानसँग खेल्ने छ । त्यस्तै तेस्रो खेलमा बिहिबार कुवेतसँग, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेलमा आइतबार युएईसँग खेल्नेछ ।
प्रतिक्रिया