खेलकूद

ए डिभिजन लीग फूटबलमा मनाङ र ब्रिगेड ब्वाइजको विजयी शुरुवात

हिमालय टिभी
२०७८ मंसिर ५ गते १९:१९
ए डिभिजन लीग फूटबलमा मनाङ र ब्रिगेड ब्वाइजको विजयी शुरुवात

५ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको तेस्रो दिन आज ब्रिगेड ब्वाइज क्लब र दाबेदार मनाङ मर्स्याङ्दीले विजयी सुरुवात गरेका छन् ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १(० गोलको झिनो अन्तरले हराउँदै मनाङले ३ अंक जोडेको हो । प्रतिस्पर्धात्मक खेलमा मनाङलाई जित दिलाउन एक मात्र गोल दिनेश राजवंशीले दोस्रो हाफमा गरे ।

गोलरहित बनेको खेलको पहिलो हाफमा दुवैले गोलका राम्रा अबसरहरु सिर्जना गर्न सकेनन् । ४५ औं मिनेटमा जावलाखेलका सुरज ज्यु ठकुरीको कर्नरमा ओनागुना जुनियरको हेडर क्रसबारमा लागेर फर्कियो । दोस्रो हाफमा मनाङले राम्रो अबसर बनायो ।

५४ औं मिनेटमा जावलाखेलका गोलरक्षक टेकेन्द्र सिंह थापा अघि बढेको अवस्थामा अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरियो । तर ५७ औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङलाई अग्रता दिलाए । दयानन्द सिंहको कर्नरमा दिनेशले हेडरमार्फत गोल गरेका थिए । खेलमा फर्किन प्रयासरत रहेको जावलाखेलले ७३ औं मिनेटमा पाएको अबसर सदुपयोग गर्न सकेन् ।

जावलाखेलका जुनियरको पासमा सुनिल खड्काले पाएको अबसर खेर फाले । बाँकी समयमा दुवै क्लबले कुनै गोल गर्न नसक्दा मनाङले कठिन जित हात पार्यो ।

यसअघि, आजै भएको पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई ३-२ गोलले हराउँदै ब्रिगेड ब्वाइज क्लबले लिगमा सुखद सुरुवात गर्यो । दुई पटकसम्म बराबरी गरेको एपिएफ अन्तिम समयमा सम्हालिन नसक्दा अंक गुमाउन बाध्य भयो । ब्रिगेड ब्वाइजको जितमा दिनेश राईले २ र सुरज गुरुङ्ले १ गोल गरे । एपिएफका लागि गत संस्करणका सर्वाधिक गोलकर्ता आशिष लामा र बिकी तामाङ १(१ गोल फर्काए ।

पहिलो हाफ बराबरी भएको खेलको दोस्रो हाफमा ब्रिगेड ब्वाइजले २ गोल गर्दा एपिएफले १ गोल फर्काएको थियो । ११ औं मिनेटमा ब्रिगेड ब्वाइजल अग्रता लियो । करिब ३५ यार्डबाट दिनेश राईले फ्रिकिकमा आकर्षक गोल गरे । दिनेशले सेकेण्ड बार च्याप्दै गरेको प्रहार एपिएफका गोलकिपरले बचाउन सकेनन् । त्यसको ५ मिनेट पछिनै एपिएफ खेलमा फर्कियो ।

काउण्टरमा आशिष लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काए । मैदानको दायाँ भागबाट आभाष लामिछानेले दिएको पासलाई पेनाल्टी बक्समा रहेका आशिषले वान टचमा सुन्दर गोल गरे । दोस्रो हाफमा सुधारीएको ब्रिगेड ब्वाइजकाका लागि ६५ औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसको १२ मिनेट पछि सब्स्टीच्युट खेलाडी बिकी तामाङले एपिएफलाई बराबरीमा ल्याए । रबि थिङको पासमा बिकीले गोल गरे । बराबरी उन्मुख खेलको इन्जुरी समयमा सुरज गुरुङले निर्णायक गोल गर्दा ब्रिगेड ब्वाइज ३-२ ले विजयी भयो । जितसँगै ब्रिगेड ब्वाइजले ३ अंक जोडेको छ ।

लीगमा भोलि हुने विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिंड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ । त्यस्तै पौने ५ बजे हुने दोस्रो खेलमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्