समाज

तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत नमूना बस्ती निर्माण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते २०:४४
तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत नमूना बस्ती निर्माण (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नमूना बस्ती निर्माण गरिएको छ । जहाँ १० वटा नमूना घर छन् ।

नगरपालिकाबाट सञ्चालित आयोजनाबाट विस्थापित तथा विपन्न गरिब परिवारका लागि नमूना वस्तीको निर्माण गरिएको हो । घर बने पनि नगरपालिकाले कार्यविधि बनाएर लागू गर्न नसक्दा अहिले ती घर खाली छन् । यसले गर्दा संरक्षण हुन नसकी बस्ती नै जोखिममा परेको छ ।

यो चिटिक्क परेको बस्ती रुपन्देहीको सैनामैना ११ सालझण्डीको नमूना बस्ती हो । कञ्चन खोलाको किनारा नजिकै बस्ती बनेको छ । बस्तीमा १० घर छन् । प्रत्येक घर ३ कोठा र १ शौचालयसहितको छ । घर वरपर हरियाली बगैचा पनि छ ।

तराई मधेश समृद्धि कार्यक्रम अनुसार यी घरको निर्माण गरिएको हो । सैनामैना नगरपालिकामा चक्रपथ निर्माणको काम सुरु भएपछि विस्थापित भएकाहरुका लागि नमुना बस्ती निर्माण गरिएको हो ।

तर चक्रपथको ट्रयाक खोल्ने काम सम्पन्न भए पनि कोही परिवार विस्थापित नभएपछि यी घर अहिले खाली छन् । अब नगरपालिकाले कार्यविधि बनाएर १० वर्षसम्म घर बनाउन नसक्ने विपन्न परिवारको लागि मासिक एक सय रुपैयाँ शुल्क लिएर घर दिने योजना बनाएको छ ।

आर्थिक वर्ष २०७५–७६ बाट बस्ती निर्माण कार्य सुरु गरिएको हो । संघीय सरकारको १ करोड ८६ लाख ५७ हजार बजेटमा नमुना बस्ती बनेको हो । बस्तीमा अझै कम्पाउण्ड, खेलमैदान र बिजुलीको पोलको काम बाँकी छ । यसका लागि थप १ करोड बजेट लाग्ने नगरपालिकाको अनुमान छ ।

नमूना बस्तीमा घर निर्माण भएर बस्नका लागि योग्य बनेको छ । तर नगरपालिकाले कार्यविधि बनाउन ढिलाई गर्दा बस्ती खाली छ । यसले गर्दा संरक्षणमा समस्या परेको छ । नगरपालिकाले गरिब तथा विपन्न परिवारको पहिचान गरि बस्ती बसाल्नु पर्ने स्थानीयबासिन्दाको माग छ ।

ठूलो रकम खर्चिएर भवन निर्माण गरिए पनि बस्ती बसाउन नसक्नु नगरपालिकाको कमजोरी हो । छिट्टै कार्यविधि बनाएर बस्ती नबसाए घरहरु बनाउन भएको लगानी बालुवामा पानी सरह हुनेछ । यसतर्फ नगरपालिका गम्भिर बन्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *