ए भिडिजन लीग फूटबलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच गोलरहित बराबरी
३ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीचको पहिलो खेल गोल रहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नियमित समय र थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । ए डिभिजनमा डेब्यु गरेको सातदोबाटोले बलमा पकड जमाए पनि पाएका अबसर सदुपयोग गर्न सकेन् ।
पहिलो हाफको ११ औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् । पहिलो हाफ गोल रहित बनेको खेलको दोस्रो हाफमा पनि दुवैले केही राम्रा अवसर पाए ।
्
दोस्रो हाफको सुरुवातमै सातदोबाटोका अजयी मार्टिन्सले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरिएयो । ५७ औं मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले बचाए । लगतै फ्रेन्ड्सका गार्सियाको प्रहार बारमा लाग्दै फर्किएको थियो ।
६६ औं मिनेटमा फ्रेन्ड्सले राम्रो मौका गुमायो । उसका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले पन्च गर्दै बचाए । खेलको अन्तिम १४ मिनेट फ्रेन्ड्स १० खेलाडीमा समेटिएपनि सातदोबाटोले त्यसको फाइदा उठाउन सकेन । बराबरीसँगै दुवैले १(१ अंक बाँडेका छन् ।
लीगमा भोलीको पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा क्लब र संकटा क्लब तथा पौने ५ बजे हुने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल दशरथ रंगशालामै हुनेछन् । १४ क्लबको सहभागिता रहेको लीग तालिकाको शीर्ष टोलीले उपाधि जित्नेछ भने पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।
प्रतिक्रिया