खेलकूद
ए डिभिजन लीग आजदेखि शुरु हुँदै, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब खेल्ने
२०७८ मंसिर ३ गते ९:५९
३ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ पौने ५ बजे शुरु हुनेछ ।
सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लीग खेल्न लागेको हो । सातदोबाटो यसै वर्ष बी लीगको उपाधि जित्दै शीर्ष लीगमा बढुवा भएको हो ।
फ्रेन्ड्सले भने लामो समयदेखि ए डिभिजन खेल्दै आएको छ । तर, उपाधि भने जित्न सकेको छैन ।
कुल ९१ खेल हुने लीगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लीगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन् ।
उपाधि विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतिक्रिया