बाँकेका किसानले किन पाएनन् धानको न्यूनतम मूल्य ! (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ बाँके । सरकारले २०७८ भदौ २९ गते धानको समर्थन मूल्य तोके पनि सरकारी स्वामित्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अझै धान खरिद शुरु गरेको छैन । खाद्य कम्पनीले धान खरिद शुरु नगर्दा बाँकेका किसानले धानको न्युनतम मुल्य समेत पाउन सकेका छैनन ।
सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम किसिमको धानको २ हजार ९सय २ रूपैयाँ तोकेको छ । सरकारले गत वर्ष भन्दा प्रतिक्विन्टल १७ रुपैयाँ बढी मुल्य तोके पनि बाँकेका किसान मोटा धान प्रतिक्विन्टल २ हजार रुपैयाँमा बिक्री गर्न बाध्य छन् ।
कार्तिकको पहिलो साता परेको बर्षा र बाढीका कारण धान बालीमा ठुलो नोक्सानी खेपेका बाँके बर्दियाका किसान खाद्य कम्पनीले धान खरिद नगरेका कारण अहिले थप मारमा परेका छन् । उनीहरुले सरकारले तोकेको न्युनतम मुल्य भन्दा पनि प्रति क्बीन्टल ६ देखि ७ सय रुपैयाँ कम मुल्यमा धान बिक्री गरिरहेका छन् ।
यो बर्ष बेमौसमी बर्षात र बाढीले धानबालीमा ठूलो क्षती पुग्यो । त्यसबाट बडो मुस्किलले जोगिएको धानको मुल्य पनि नपाउँदा किसानहरु मारमा परेका छन् ।
पानीले भिजेको धान मिल सञ्चालनकहरुले प्रति क्बीन्टल १२ सय देखि १८ सय रुपैयाँसम्म खरिद गर्ने गरेका छन् । वर्षा र बाढीबाट जोगाएको धानले बीउ जोहो गर्न समेत मुस्किल परेको छ । बाँके बर्दियाका किसानको आम्दानीको मुख्य स्रोत नै धान खेती हो । त्यहि धान खेतीमा नोक्सानी खेपेका किसानले नेपाल सरकारबाट हालसम्म पनि राहत पाएका छैनन् ।
किसानले पानीले भिजेर सडेको धान बिक्रीका लागि ल्याउने गरेका कारण धानको मुल्य नपाएको व्यवसायी बताउँछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयबाट धान खरिदका लागि यो बर्ष कोटासम्म निर्धारण भएको छैन । कोटा निर्धारण गरि खरिद सुरु गर्नु भन्ने निर्देशन नआएका कारण धान खरिद सुरु नभएको कम्पनीका नेपालगन्ज शाखा प्रबन्धक राम बहादुर बिष्टले बताउनुभयो ।
कम्पनीको नेपालगन्ज शाखाले गत बर्ष ४७ हजार ८ सय २ कोटा निर्धारण क्विन्टल धान खरिद गरेको थियो । गत बर्ष मंसिरको पहिलो साता देखि कम्पनीले नेपालगन्जमा धान खरिद सुरु गरेको हो ।
प्रतिक्रिया