खेलकूद

गैरजिम्मेवार खेल निकाय र अधिकारीः यस्तो मारमा खेलाडी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३० गते २०:३२
गैरजिम्मेवार खेल निकाय र अधिकारीः यस्तो मारमा खेलाडी (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ काठमाडौं । खेलसँग सम्बन्ध निकाय गैरजिम्मेवार बन्दा खेलाडीहरु पटक पटक शिकार बन्नु नेपालका लागि नौलो होइन् । विगतदेखिनै खेलाडीहरु आफ्नै अभिभावक खेल संस्थाबाट पीडित बन्दै आएका छन् ।

यसैक्रममा पछिल्लो पटक करातेमा फेरि एक पटक यो नियती दोहोरिएको छ । विश्व कराते च्याम्पियनसिपमा सहभागीताको तयारीमा रहेका खेलाडी अन्तिम समयमा आएर प्रतियोगिताबाट बञ्चित भएका छन् ।

सागका दोहोरो स्वर्णधारी कराते खेलाडी लगायत ८ जना कराते खेलाडी विश्व कराते च्याम्पियनसिपमा खेल्ने लक्ष्य सहित पछिल्ला केही वर्षदेखि लगातार प्रशिक्षणमा थिए । नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद साग लगतै प्रशिक्षक र खेलाडीहरु प्रतियोगिताको तयारीमा थिए ।

कोरोना महामारीका समयमा लगाइएको निषेधाज्ञामा समेत सावधानी अपनाउँदै उनीहरु कडा मिहेनेत गरिरहे । तर जब प्रतियोगितामा सहभागी हुने समय आयो, विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने योजनामा रहेका खेलाडीहरुमा एकाएक निराशा छायो ।

विश्व च्याम्पियनसिपमा सहभागीताको तयारीमा रहेका खेलाडीलाई नेपाल कराँते महासंघले त्यहाँ जाने वातावरण बनाउनुको सट्टा गैरजिम्मेवार अघिव्यक्ति दिएको खेलाडीहरुको बुझाई छ । प्रतियोगितामा जाने खेलाडीलाई महासंघले आफ्नै खर्च र जोखिममा जानु पर्ने सर्त राख्यो ।

यसमा केही खेलाडीहरु तयार भए पनि अधिकांश खेलाडीको भने गोजीको पैसा हालेर देशका लागि खेल्न जाने सामर्थ्य भएन । त्यसैले ८ मध्ये ५ जना खेलाडीले नजाने निर्णय गरे । च्याम्पियनसिपका लागि सागका स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ, अनु अधिकारी, विप्लवलाल श्रेष्ठ, मुकुन्द महर्जन, निर्मला तामाङ खेल्नबाट बञ्चित भए ।

किनकी आफ्नै खर्चमा प्रतियोगिताका लागि गए पनि खेल्न पाउने नपाउने निश्चित भएन । सागका रजत पदक विजेता दिवस श्रेष्ठ, मोहम्मद शेख आलम र विजय श्रेष्ठ भने दुबई गएका छन् । जिम्मेवार निकाय संघ नै खेलाडी प्रति गैरजिम्मेवार बन्दा विश्व च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको उनीहरुको बुझाइ छ ।

नवीकरण वापत विश्व कराते महासंघलाई बुझाउनु पर्ने ५६ लाख रुपैयाँ नेपाल कराते महासंघले अझै तिरेको छैन् । विश्व कराते महासंघले पुरै रकमको आधा वा एक तिहाई बुझाउन भनेपनि रकम नभएपछि खेलाडीको सहभागीता अन्यौलमा परेको हो ।

त्यसो त राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता प्राप्त दुई कराते संघबीच जुङ्गाको लडाई चल्दा खेलाडीहरु पटक पटक खेल्नबाट बञ्चित हुँदै आएका थिए । र यो पटक कराँतेका दुई वटा संघ हुँदा खेलाडी बञ्चित भए ।

तीन वर्षअघि शम्भु आचार्यको अध्यक्षतामा महासंघको एकता भए पनि निर्वाचन प्रक्रिया पुरा हुन नसक्दा दुवै संघको दोहोरो अस्तित्व अझै पनि कायम छ । यि दुई संघबीचको पुरानो तिक्ततापूर्ण सम्बन्धकै कारण नेपाली खेलकुदमा सफल मानिएको कराते आजको अवस्थामा आएको धेरैको धारणा छ ।

तर कारण जे भए पनि प्रतियोगिताको तयारीमा दिन रात रगत पसिना बगाई राष्ट्रको प्रतिष्ठाको लागि लडिरहेका खेलाडीको भावनामा चोट पुगेको छ । खेल क्षेत्रबाट राष्ट्रको पहिचान कायम राख्ने र खेलाडी राष्ट्रको गहना भन्ने पदाधिकारीहरु जिम्मेवार नबन्दा युवाहरुलाई यो क्षेत्रमा कसरी आकर्षित गर्न सकिएला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्