आर्थिक

मोतीपुर र सन्धिखर्क सबस्टेशन निर्माणको अन्तिम चरणमा

हिमालय टिभी
२०७८ कार्तिक ३० गते ६:४९
मोतीपुर र सन्धिखर्क सबस्टेशन निर्माणको अन्तिम चरणमा

३० कात्तिक २०७८ काठमाडौं । कपिलवस्तु र अर्घाखाँचीमा प्रवाह हुने बिजुलीको गुणस्तर बढाउन तथा सहज आपूर्तिको व्यवस्थाका लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्माणको क्रममा रहेका सबस्टेशन अन्तिम चरणमा रहेको छ ।

प्राधिकरणका अनुसार बाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेशसनको निर्माण अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेशनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहने छन् । सबस्टेशनका सम्पूर्ण उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।

पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठवटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । सतासी वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाङ्गिएको छ ।

यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धीखर्क प्रसारण लाइन र सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ ।

अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । तेत्तीस केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातीपुर सबस्टेशन र प्रसारणलाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताउनुभयो । “अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प वत्ति गएको भन्दै मलाई सिधैँ फोन गरी धेरै गुनासा आएका छन् । उपभोक्ताबाट गाली खाएका छौँ, त्यसैले सबस्टेशन र प्रसारणलाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै सबस्टेशन र प्रसारण लाइनको निर्माणपछि यस यस क्षेत्रका उद्योगलाई चाहिए जति विद्युत् दिन सकिने बताउनुभयो । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *