समाज

कुलतमा १६ देखि २५ वर्षका युवाको संलग्नता बढी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २९ गते २०:४०
कुलतमा १६ देखि २५ वर्षका युवाको संलग्नता बढी (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७८ सुनसरी । लागूऔषधको कुलतमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता बढी भएको पाइएको छ । साथीको लहैलहै र लागुऔषधप्रतिको कौतुहोलताले युवा कुलतमा फस्ने गरेका छन् ।

लत कहिले कुलतमा परिणत हुन्छ थाहा हुँदैन । यस्तै भएको छ सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टिका कृतम पोखरेलको जीवनमा पनि ।

साथीको लहैलहैमा लागेर कस्तो हुँदो रहेछ एक पटक चाखौँँ न त भनेर शुरु भएको कृतमको लागूऔषधको यात्रा त्यो विना जीवनयापन गर्न नसक्नेमा पुग्यो । २०(२२ वर्षको उमेरमा कलेज पढ्दा साथीको लहैलहैमा लागेर कुलतमा फसेका कृतम इटहरीमा आस्था फाउन्डेसनले सञ्चालन गरेको पुनर्स्थापना केन्द्रमा हुनुहुन्छ ।

कृतमको जस्तै भोगाइ छ सोही पुनर्स्थापना केन्द्रमा बस्दै आएका मोरङको सुन्दरहरैँचा नगरपालिकाका प्रकाश बस्नेतको पनि । दुई सन्तानका बुबा बस्नेतलाई पनि लागूऔषध कस्तो हुन्छ भन्ने जिज्ञासले नै कुलतमा फसायो । जीवन र परिवारको महत्व बुझ्न बस्नेतलाई पुनर्स्थापना केन्द्रमै पुग्नु पर्‍यो ।

प्रकाश र कृतम जस्तै १५ देखि ३५ वर्ष उमेर समूहका ब्यक्तिहरु बढी मात्रामा लागूऔषधको दुर्व्यसनीमा फसेका छन् । त्यसमा पनि १५ देखि २५ बर्षका युवा बढी मात्रामा पूनर्स्थापनाका लागि पुग्ने गरेका छन् ।

प्रहरीको तथ्याङ्कले पनि लागूऔषधको ओसारपसार, वितरण, प्रयोग तथा कारोबारमा युवा सहभागिता अत्यधिक देखाउँछ । इलाका प्रहरी कार्यालय इटहरीमा आर्थिक वर्ष २०७७०७८ मा लागूऔषध कसुरमा ४६ जना पक्राउ परे । जसमा २६ जना १६ देखि २५ वर्ष, १४ जना २६ देखि ३५ वर्ष र अन्य ६ जना त्यस भन्दा बढी उमेर समुहका थिए । यसले लागूऔषधमा युवाको उपस्थिति विकाराल बन्दै गएको देखाउँछ ।

लागूऔषधमा फस्न पारिवारिक, आर्थिक र सामाजिकसँगै साथी संगतले पनि ठूलो भूमिका खेलेको पाइन्छ । विशेषतः परिवारले छोराछोरी के गर्दैछन्, उनीहरुको संगत कोसँग छ भन्ने कुरामा विशेष ख्याल गरे युवालाई लागूऔषधको कुलतबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *