खेलकूद

फुटबल प्रशिक्षणसम्बन्धी कोर्स अब एन्फाले नै तयार गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २८ गते २०:३२
फुटबल प्रशिक्षणसम्बन्धी कोर्स अब एन्फाले नै तयार गर्ने (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७८ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसियाली फुटबल महासंघ (एएफसी)को कोचिङ कन्भेन्सन अन्तर्गत बी श्रेणीको मान्यता पाएको छ । यससँगै नेपाली प्रशिक्षकले लाइसेन्सका लागि विदेशी कोर्स गर्नुपर्ने बाध्यतासमेत हट्नेछ ।

एन्फा आफैले सी र बी लाइसेन्स कोर्स बनाउने र प्रशिक्षण समेत गराउने हुँदा नेपालमै दक्ष र स्तरीय प्रशिक्षक उत्पादनका लागि यो ठूलै अवसरका रुपमा लिइएको छ ।

खेलकुद विकासका लागि खेलाडीको क्षमतासँगै प्रशिक्षकको गुणस्तर पनि निकै महत्वपूर्ण हुन्छ । असल र स्तरीय प्रशिक्षकबाटै क्षमतावान खेलाडी उत्पादनको आशा गर्न सकिन्छ । किनकी खेलाडीको हरेक प्रदर्शन उसको प्रशिक्षणसँग जोडिएको हुन्छ । र खेलाडीको सफलता र असफलताको भागीदार पनि प्रशिक्षक आफै बन्ने गरेका हुन्छन् ।

नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक उत्पादनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । तर प्रशिक्षणका लागि विदेश पठाउनुपर्ने वा विदेशी इन्सट्रक्टरलाई नेपाल झिकाउनु पर्ने बाध्यता रहँदै आएको थियो ।

अब भने एएफसीको समय तालिका अनुसार प्रशिक्षण कार्यक्रम गर्नुपर्ने बाध्यता हटेको छ । किनकी एन्फाले एएफसीबाट कोचिङ कन्भेन्सन अन्तर्गत बी श्रेणीको सदस्यको मान्यता पाएको छ । यससँगै एन्फा आफैले प्रशिक्षकका लागि सी र बी लाइसेन्स कोर्सदेखि प्रशिक्षण समेत गराउने अनुमति पाउने छ ।

बी श्रेणीको मान्यता पाएसँगै अब एन्फाले एएफसीको गाइडलाइन अनुसार नेपाली भाषामै कोचिङ कोर्स डिजाइन गर्न पाउनेछ । यसबाट भाषागत समस्याका कारण पछि परेका नेपाली प्रशिक्षकहरुले आफ्नै भाषामा क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन् ।

हाल नेपालमा ए लाइसेन्स प्राप्त ३९, बी लाइसेन्सका ८३, सी का १७२, डी का २४२ र गोलकिपर प्रशिक्षक २७ जना छन् । संख्यात्मक रुपमा पर्याप्त प्रशिक्षक उपलब्ध भए पनि गुणस्तरीय प्रशिक्षक उत्पादनमा यो कोर्स महत्वपूर्ण हुने सिंहको विश्वास छ । यो कोर्सले एसियालीस्तरमा मान्यता पाउने हुँदा नेपाली प्रशिक्षक र समग्र नेपाली फुटबलकै लागि पनि महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको छ ।

नेपालमा संजित सिंह एक्लो बी लाइसेन्स ‘इन्सट्रक्टर हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन थालेको आधा शताब्दी भइसक्दा समेत प्रशिक्षक उत्पादनमा नेपाल निकै पछाडी छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स अनिवार्य भएसँगै नेपालले विदेशी प्रशिक्षक भित्र्याउन बाध्य छ ।

किनकी नेपालमा यो स्तरका प्रशिक्षक नै छैनन् । अन्तर्राष्ट्रिय फुटबलमा सफल टोलीहरुले खेलाडीसँगै प्रशिक्षकलाई समेत समय सापेक्ष ज्ञान र क्षमता विकासमा लगानी गर्दै आएको छ । तर नेपालमा भने ढिलै भएपनि यस विषयले प्रवेश पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्