समाज

फरार अभियुक्त धमाधम पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते २०:३८
फरार अभियुक्त धमाधम पक्राउ (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ कपिलवस्तु । विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ कार्यलाई कपिलवस्तु प्रहरीले तिब्रता दिएको छ । प्रहरीले कपिलवस्तु अदालतबाट फरार अभियुक्तको सूचि संकलन गरी पक्राउ अभियान चलाएको हो ।

अभियानअन्तर्गत पछिल्लो करिब ४ महिनामा गत आर्थिक वर्षभन्दा साढे तीन गुणा बढी फरार अभियुक्त र अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको छ ।

यी हुन कपिलवस्तुको साविक उदयपुर गाविस ७ बन्जरियाका भोलानाथ उपाध्याय । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई ११ वर्षदेखि फरार रहेका यिनलाई प्रहरीले भाइटीकाको रात कपिलवस्तु नगरपालिका १ बाट नियन्त्रणमा लिएको हो ।

२०६७ साल असोज २१ गते मेला हेर्न गएका उनले आफ्नै गाउँलेको हत्या गरेको अभियोगमा जिल्ला अदालतले कैद सजाय तोकेको थियो । उनीसँगै कैद सजाय पाएका छेदी यादव र हरिहर कुर्मी १० वर्ष अघि नै पक्राउ परी कैद भुक्तानी गर्दै छन् । उपाध्याय भने फरार भई भारतमा लुकी छिपी बस्दै आएका थिए ।

गत आर्थिक वर्षमा १ सय ४१ जना फरार अपराधी पक्राउ गरेको कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षमा अहिलेसम्म ४ सय ७३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अदालतले कैद र जरिवाना गरेका फरार अभियुक्तलाई नियन्त्रणमा लिई अदालतमा पेश गर्ने र कारागार चलान गर्ने गर्दै आएको छ । यो अभियान अन्तर्गत १ सय ५० बर्ष ७ महिना १० दिन कैद र २८ लाख ८९ हजार रुपैयाँ जरिवाना असुल उपर भएको छ । अभियुक्तलाई कानुनी दायरामा ल्याउन अभियान नै सञ्चालन गरेको कपिलवस्तु प्रहरीको भनाई छ ।

जिल्ला अदालतका अनुसार कपिलवस्तुमा गत आर्थिक बर्षसम्म फरार अपराधी र प्रतिवादीको संख्या ३ हजार १ सय २८ छ । जसमा कैद असुल उपर गर्नु पर्ने ५ सय ४ जना, जरिवाना नतिरेका १ हजार ४ सय ६३ र कैद तथा जरिवाना दुवै असुल्नु पर्ने १ हजार १ सय ६१ जना छन् ।

जसबाट करिब ४ हजार बर्ष कैद र ५ करोड रुपैयाँ बढी जरिवाना असुल्न बाँकी छ । फरार अपराधीलाई पक्राउ गर्न अदालतमा न्यायिक प्रहरी वा न्यायिक दस्ता नभएको सन्दर्भमा कपिलवस्तु प्रहरीले सञ्चालन गरेको बिशेष अभियान प्रभावकारी भएको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यो बर्ष हालसम्म ६ सय १५ जना फरार अपराधी पक्राउ परेको प्रदेश प्रहरीको तथ्याङ्क छ । जसमध्ये ४ सय ७३ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *