समाज

सयौँ रोपनी खेतियोग्य जमिन बगरमा परिणत भएपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १४:५३
सयौँ रोपनी खेतियोग्य जमिन बगरमा परिणत भएपछि… (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ काठमाडौं । यही कात्तिकको पहिलो साता आएको बाढीले धेरै क्षति गरेको क्षेत्रमध्ये एक हो धनकुटा र पाँचथरको सिमानामा पर्ने नावा खोला आसपासको खेतीयोग्य जमिन । अविरल वर्षासँगै आएको बाढीले पाक्न लागेको धान मात्र नस्ट गरेन, खोला आसपासको सयौँ रोपनी खेतियोग्य जमिनलाई बगर बनाएको छ ।

धनकुटा र पाँचथरको सिमानामा पर्ने नावा खोला आसपासको क्षेत्र । कात्तिक पहिलो साता आएको बाढीले नावा खोला आसपासको सयौं रोपनी कृषि योग्य जमिन बगरमा परिणत गरेको छ ।

नावा खोलाको किनारमा पर्ने धनकुटाको चौविसे गाउँपालिका वडा नम्बर ४ छब्बिसेमा मात्रै करिव ९ सय रोपनी खेत पुरेर बगर बनाइदिएको छ । धान पाकेर काट्ने तयारी भइरहँदा खेत वगर बनेपछि यो वर्ष अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ता किसानलाई छ ।

नावाखोलाको साहुटार, खलङ्गे, सार्के, गाउँजे, वडारे हुँदै छब्बिसेसम्म धान फल्ने वेशी फाँट छ । अहिले सबै वेशी फाँट नावा खोलाको वाढीले पुरेको छ । धनकुटा र पाँचथरतर्फ गरी २ हजार ६ सय रोपनीभन्दा बढी खेति योग्य जमिन बगरमा परिणत भएको प्रारम्भिक आँकलन छ ।

२०२५ सालमा पनि नावाखोलामा आएको बाढीले किसानको खेत बगाएको थियो । ५३ बर्षपछि फेरि उस्तै नियति भोग्नु परेको छ । त्यहाँ उत्पादन हुने धानले किसानको वर्षदिनको जीवन धानेको थियो ।

तर यो पटक नावा खोलामा आएको बाढीले धान फल्ने खेत सधैका लागि मरुभूमिमा बनाइदिएको छ । किसानलाई अन्नको चिन्तासँगै आउने वर्षहरुमा खेती कहाँ र कसरी गर्ने भन्ने चिन्ताले समेत सताउन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *