आर्थिक

बेमौसमी वर्षाले धान नष्ट भएपछि किसान चिन्तित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १४:४७
बेमौसमी वर्षाले धान नष्ट भएपछि किसान चिन्तित (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ चितवन । कार्तिक महिनाको पहिलो साता लगातार तीन दिन पानी पर्‍यो । पानीले काटेर सुकाएको धान भिजेर बिग्रियो भने सग्लै रहेका धान पनि ढलेर नष्ट भयो । चितवनमा पाक्न बाँकी रहेको धान समेत बेमौसमी वर्षाले नष्ट भएपछि किसानहरु थप चिन्तित भएका छन ।

बेमौसमको पानी आयो धान लडी गयो
किसानलाई धेरै धेरै मर्का परीगयो
धान ढल्यो बारीभरी उत्पादन छैन
किसानको भकारीमा धान भरीने छैन
मर्का पर्यो किसानीलाई के खाने होला
कठैवरा‍‍‍‍‍‍….

कात्तिकको शुरुमै आएको बेमौसमी वर्षाले चितवनमा तीस प्रतिशत धान खेतीमा क्षति भयो । खासगरी पश्चिम चितवनमा धान ढिलो गरी रोप्ने र ढिलो गरी काट्ने चलन छ । त्यसैले पश्चिम चितवन लगायत माडी नगरपालिकामा यतिबेला धान भित्र्याउने चटारो छ किसानलाई । तर ढलेको धान उठाउन ज्याला मात्रै बढी लाग्ने भएको र उत्पादन निकै कम हुँदा किसानलाई मर्का परेको छ ।

राजाराम तिमल्सिनाले समूहमा मिलेर दश बिगाहामा सावित्री धान लगाउनुभएको थियो । तर हावा र पानीले ढालेको धान उठाउन ज्याला पनि दोब्बर लाग्ने भएको छ । बाढीले पल्टाएपछि पानी सुक्न पाएन डुवान भयो। खेतमा टयाक्टर थ्रेसर जान सकेन र अहिले खेताला लगाएर धान काट्न परेको छ ।

माडी नगरपालिकामा नमुनाको रुपमा सामुहिक खेती गरिएको छ । ८५ जना किसानको १०० बिगाहा जमिनलाई एकीकृत गरी खेती गरिएको छ । २०७५ सालबाट शुरु गरिएको सामुहिक खेतिमा बागमती प्रदेश सरकारले पाँच करोड बराबरको अनुदान दिएको छ।

सुर्योदय कृषक सहकारीलाई उपकरण खरिद गर्न प्रदेश सरकारको ७० प्रतिशत र सहकारीले तीस प्रतिशत लगानी छ । तर लगातार परेको पानीका कारण ती उपकरण खेतमा जान सक्दैनन। ट्याक्टर, कम्बाइन हार्भेष्टर लगाएतका उपकरण अनुदानमा दिए पनि किसानको लागत कम हुन सकेन । किसानले ज्यालादारीमा खेताला लगाउनु परेको छ ।

चितवनमा २९ हजार दुई सय हेक्टरमा धान खेती हुँदै आएको छ । ९७ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । बेमौसमी वर्षा, किरा जस्ता किसानलाई क्षति पुर्याउँदा चितवन भरी नै उत्पादन घट्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *