खेलकूद

लीग खेलका लागि च्यासल रंगशालाको तयारी अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १४:४१
लीग खेलका लागि च्यासल रंगशालाको तयारी अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ काठमाडौं । शहीद स्मारक ए डिभिजन लीग नजिकिँदै गर्दा खेल स्थलको तयारी पनि तीव्र पारिएको छ । आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा)ले यस पटक चार वटा मैदानमा खेल संचालनको तयारी गरेको छ ।

लीगका सुरुवाती दुई खेलका लागि खेल स्थल टुङ्गो लागे पनि तेस्रो चरणदेखि अन्य दुई स्थानमा पनि खेलाउने एन्फाको तयारी छ । यसका लागि ललितपुरमा रहेको च्यासल रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ ।

आसन्न शहीद स्मारक ए डिभिजन लीग संचालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ । सहभागी क्लबहरु खेलाडी अनुबन्ध गर्दै आन्तरिक तयारीमा जुटिरहँदा एन्फाले पनि व्यवस्थापकीय तयारी चुस्त बनाएको छ ।

अघिल्लो संस्करण एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा खेलाएको एन्फाले यस पटक यि दुईसहित अन्य दुई मैदानमा पनि खेल संचालनको तयारी गरेको छ । यस पटक ए डिभिजन लिगकै सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदानका रुपमा पोखरा रंगशालामा खेल खेलाउन पहल गरिरहेको छ । अर्को खेल स्थलका रुपमा च्यासल रंगशालाको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

२०७४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपले च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती सुरु गरेको हो । १३ औं दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरि स्तरोन्नती थाले पनि समयमा निर्माण सम्पन्न हुन सकेन ।

डाँफे प्रेररा प्रतिष्ठा जेभीले ३३ करोड ५० लाखमा निर्माणको जिम्मा पाएको मैदानले अहिले बल्ल रंगशालाको स्वरुप पाएको छ । राखेप अन्तर्गत रहेको यो रंगशाला एन्फामा हस्तान्तरण भएपछि मैदानमा गोल पोष्ट, रेखाङकन र ड्रेसिङ रुमको फिनिसिङ सक्ने एन्फाको योजना छ ।

मैदानको ३ तर्फ प्यारापिट राखिएको छ भने नदी रहेको उत्तरी दिशा भने खाली नै रहनेछ । यो रंगशाला तयार भएपछि दर्शक क्षमता बृद्धि भई ८ हजार दर्शकले एक साथ खेल हेर्न सक्नेछन् । मैदानमा पानी नजम्ने प्रविधिसहित ढल राखेर बर्मुडा ग्रास लगाईएको छ ।

यसले रंगशाला समेत आकर्षक देखिएको छ । वाग्मती नदी किनारको करिब ४९ रोपनी क्षेत्रफलमा फैलिएको पर्ती जग्गा खेलकुदका लागि प्रयोग गर्न स्थानीय च्यासल क्लबले तीन दशक अघि नै पहल गरेको थियो । पछि ललितपुर जिल्ला प्रशासन र च्यासलको सहमतिमा फिफाको गोल प्रोजेक्ट अन्तर्गत टेक्निकल सेन्टरका रुपमा स्थापना भएको हो ।

दशरथ रंगशालाको विकल्पका रुपमा हेरिएको यो रंगशालाले नेपाली फुटबललाई थप चलायमान बनाउने छ । भुकम्पका कारण एक मात्र रंगशाला, दशरथ रंगशाला क्षतिग्रस्त हुँदा नेपाली खेलकुदनै ठप्प जस्तै बनेको विगत बिर्साउन यस्ता रंगशाला राम्रो विकल्प हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्