गह्रौँसुर कालिका मन्दिरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने

हिमालय टिभी
२०७८ कार्तिक २७ गते ७:१४
गह्रौँसुर कालिका मन्दिरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने

२७ कात्तिक २०७८ वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलकारुपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादसैँको अवधिभरमा रु दश लाख बढी भेटी सङ्कलन भएको छ ।

स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा रु दश लाख २४ हजार ३३२ सङ्कलन भएको गह्रौँसुर धार्मिक एवं पयर्टकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो ।

अध्यक्ष खाँणका अनुसार मन्दिरमा विभिन्न शीर्षकमा सङ्कलन भएको रकममध्ये भेटीबाट रु तीन लाख ३९ हजार ८२४, पाठाको टाउको बिक्रीबाट रु दुईलाख ६७ हजार ९७०, पाठा सरसफाइबाट रु एकलाख ८५ हजार ९००, परेवा बिक्रीबाट रु ५४ हजार ६००, विभिन्न शीर्षकबाट रु एकलाख ७६ हजार ३८ गरी रु दश लाख २४ हजार ३३२ रकम सङ्कलन भएको हो ।

बडादसैँको अवधिभर पूजा व्यवस्थापनका लागि रु तीनलाख ६८ हजार ९५५ खर्च भएको अध्यक्ष खाँणले बताउनुभयो । खर्च कटाएर बचत भएको रु छ लाख ५५ हजार ३७७ रकमले मन्दिरमा पुजारीको पारिश्रमिक, मन्दिर व्यवस्थापनमा खर्च गरिने अध्यक्ष खाँणको भनाइ थियो ।

तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर ५५० वर्ष पुरानो मानिन्छ । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरको अझै प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्नका लागि भौतिक पूर्वाधार, सुविधासम्पन्न अतिथि गृह, सडकको स्तरोन्नति, खानेपानीलगायतको व्यवस्थापन गर्ने कार्य भइरहेको पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।

विशेष गरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा बलि दिने गरिन्छ । एकादशी, औँशीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।

वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची ग्रामीण सडक हुँदै यस ठाउँमा पुग्न सकिन्छ । समुद्र सतहदेखि झण्डै एक हजार ६०० मिटरको उचाइमा रहेकाले पनि यहाँबाट हिमश्रृङ्खला, स्याङ्जासहित पाल्पा, नवलपरासी, कास्की, गुल्मी, पाल्पा, तनहुँलगायतका जिल्लाका केही भेग देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *