खेलकूद

प्रशिक्षणको वातावरण मिलाइदिन खेलाडीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १६:१७
प्रशिक्षणको वातावरण मिलाइदिन खेलाडीको आग्रह (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तै खेलकुद मन्त्रालयको नेतृत्व गरेर जति मन्त्री आए पनि उनीहरुको कामको शैली उस्तै, सुस्त, अस्पष्ट र अन्योलग्रस्त हुने गरेको छ । त्यसैकारण हुन सक्छ, विभिन्न खेलकुद समिति र खेलाडीका दुःख र गुनासा सँधैभरि उस्तै रहने गरेका छन् । अनि फेरिएर आएका मन्त्रीका जवाफ पनि उस्तै रेडिमेड हुने गरेका छन् ।

खेलकुद मन्त्रालय होस् वा राष्ट्रिय खेलकुद परिषद् । नयाँ मन्त्री वा सदस्य सचिव आएपछि स्वागत गर्न जाँदा खेलाडीले गर्ने गुनासो सँधै एउटै हुन्छ । खेलाडीलाई खेल्ने वातावरण बनाइदेउ, न्यूनतम सुविधा देउ । अनि ठूला प्रतियोगिताका लागि निर्वाध रुपमा प्रशिक्षणको वातावरण बनाइदेउ ।

नयाँ मन्त्रीले ज्ञापन पत्र बुझ्छन्, अनि एकछिन आश्वासन पनि बाँढ्छन् । अब त केही हुन्छ की भनेर खेलाडी फर्किन्छन् । तर, खेलाडीको मागमा सुनुवाई हुँदैन । फेरी नयाँ नेतृत्व आउँछ, खेलाडी त्यही कार्यालयमा त्यही समस्या लिएर समाधानको आग्रह पत्र लिएर पुग्छन् ।

यही क्रम दोहोरिरहन्छ । युवा तथा खेलकुद मन्त्री नियुक्त भएपछि नेपाल ओलम्पिक कमिटी भ्रमणमा गएका महेश्वरजंग गहतराजलाई फेरि खेलाडीले आफ्नो पीडा सुनाए ।

१९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा आयोजना हुँदैछ । करिब १० महिना समय बाँकी छ । तर कोरोनाले थलिएको नेपाली खेलकुद अझै कोमामै छ । मन्त्री नियुक्त भए लगत्तै मन्त्रालय पुगेर खेलाडीले प्रशिक्षण, सुविधा लगायतका विषयमा ज्ञापन पत्र बुझाएका पनि हुन् ।

एक महिना भयो, खेलाडी कहिले क्याम्पमा बोलाइएला भनेर कुरेका छन् । मन्त्री गहतराजले ओलम्पिक कमिटीमा फेरी एक पटक त्यही भाषण दोहो¥याउनु भयो, भोलि देखिनै क्याम्प सुरु गर्नुस् । हामीले जे जे गर्न सक्छौं गरौंला ।

सांसदसमेत रहेका जीवनराम श्रेष्ठ लामो समयदेखि ओलम्पिक कमिटी हाँक्दै आउनुभएको छ । नेपाली खेलकुदको अवस्था अवगत गराउँदै श्रेष्ठले उचित वातावरण बनाइदिन आग्रह गर्नु भयो । राज्यले खेलकुदलाई छुट्याउने रकम बढाउनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।

हुन त खेलकुद बुझ्न मन्त्री गहतराजलाई केही समय लाग्ला । तर, खेलाडीलाई प्रशिक्षण गराइहाल्नुपर्छ भन्नेमा उहाँ सचेत हुनुहुन्छ । ओलम्पिक कमिटीको स्वागतमा भने उहाँले निर्देशन दिएजस्तै भोलि देखि नै प्रशिक्षणको वातावरण बन्छ(बन्दैन । मन्त्रीको भनाईलाई विश्वास गरेर संघले खेलाडीलाई प्रशिक्षणमा बोलाउने हिम्मत गर्छ गर्दैन । त्यो भोलि नै देखिएला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्