समाज

चाडबाड नसकिँदै भारत फर्कनेको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते २०:४५
चाडबाड नसकिँदै भारत फर्कनेको लर्को (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । दशैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु पुनः काम खोज्दै भारत जान थालेका छन् । चाडपर्व मनाउन केही दिनको बिदामा घर आएका उनीहरुहरु निधारको टीका नपुछिदै भारत जान बाध्य भएका हुन् । हिउँदेबाली लगाउने समय र घरमा कामको चटारोलाई थाँती राख्दै विशेषगरी पुरुषहरु भारत जान थालेपछि गाउँघर सुनसान बन्न थालेका छन् ।

अहिले दैनिकजसो रोजगारीका लागि भारतका विभिन्न सहरमा काम गर्न सिमानाका गौरीफन्टामा जम्मा भएकाको भीड देखिन्छ ।

चाडपर्व मनाउन स्वदेश फर्किएकाहरु सुदूरपश्चिमका पहाडी जिल्लादेखि काँधमा झोला बोकेर निधारमा टीका नपुछिदै पुन रोजगारीका लागि भारत जान सिमानाका पुगेका हुन् । ।

कामको खोजीमा दैनिक करिब ७ सय जना यो नाका हुँदै भारत गइरहेका छन् । स्वदेशमा रोजगारीका अवसर नभएकाले वर्षेनि काम खोज्न भारत जानुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । यस वर्ष बेमौसमी वर्षाले धानबालीमा क्षति गरेकाले खान लाउन नपुग्ने भएपछि उनीहरु छिट्टै भारत पसेका छन् ।

चाडबाडमा लगाएको निधारको टीका नपुछिँदै भारत जानु उनीहरुको बाध्यता हो । देशमै रोजगारी पाए भारत जान उनीहरुलाई कुनै रहर छैन ।

हरेक वर्ष लाखौँ नेपाली रोजगारीको खोजीमा भारत जाने गरेका छन् । तीनै तहका सरकारले रोजगारी सिर्जना गर्ने भन्दै विभिन्न कार्यक्रम घोषणा गरे पनि ५ वर्ष पुग्नै लाग्दा कुनै उपलब्धी हासिल भएको छैन । यसतर्फ सरकारको ध्यान कहिले जाने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *