खेलकूद

ए डिभिजनमा नवप्रवेशी सातदोबाटो क्लबको उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते २०:३७
ए डिभिजनमा नवप्रवेशी सातदोबाटो क्लबको उत्साह (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ काठमाडौं । घरेलु फुटबलको शीर्ष श्रेणी सहिद स्मारक ए डिभिजन लीग नजिकिँदै जाँदा सहभागी क्लबहरुले तयारीलाई तिब्रता दिएका छन् । चर्चित र दाबेदार क्लबहरु उपाधि जित्ने लक्ष्यसहित तयारीमा लाग्दै गर्दा सातदोबाटो युथ क्लबका लागि भने यो संस्करण विशेष हुनेछ । पहिलो पटक ए डिभिजन लीग खेल्न लाग्दा पदाधिकारीदेखि खेलाडीसम्म पनि निकै उत्साहित छन् ।

नेपाली फुटबलकै शीर्ष श्रेणीको प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग खेल्नु हरेक फुटबल खेलाडीको सपना हो । टोल र स्थानीयस्तरमा खेलिरहेका खेलाडीका लागि राष्ट्रिय टोलीमा स्थान बनाउने अवसर पनि ए डिभिजन लीगले उपलब्ध गराउने गर्दछ ।

त्यसैले खेलाडीहरु ए डिभिजन लिग खेल्ने लक्ष्य लिएरै आफ्नो खेल कौशल तिखारिरहेका हुन्छन् । यस्तोमा यस सिजन पहिलो पटक ए डिभिजन लीग खेल्ने तयारीमा रहेको सातदोबाटो युथ क्लब यतिखेर अन्तिम चरणको तयारीमा व्यस्त छ । स्थापनाको करिब ३ दशक पछि शीर्ष डिभिजनमा बढुवा भएको क्लबको प्रशिक्षणमा जिम्मा अनुभवी प्रशिक्षक मेघराज केसीको काँधमा छ । तुलनात्मक रुपमा बलिया र स्तरीय क्लबहरुविरुद्ध खेल्नु पर्ने हुँदा क्लबले अहिले त्यही अनुसारको तयारी गरिरहेको छ ।

यसअघि नै क्लब फुटबलमा नफर्कने घोषणा गरेका प्रशिक्षक केसीले नयाँ टोलीको जिम्मेवारी आफ्ना लागि पनि चुनौतीका रुपमा रहेको बुझेका छन् । ए डिभिजनका स्थापित क्लबरुलाई सफलता दिलाइसकेका उनी अबको सातदोबाटोलाई लीग तालिकाको राम्रो स्थानमा पुर्याउने लक्ष्यमा छन् ।

ए डिभिजनको महत्व राम्रोसँग बुझेका क्लब पदाधिकारीहरुले पनि टोलीको तयारीमा कुनै कसर बाँकी राखेका छैनन् । माथिल्लो श्रेणीमा उक्लिएसँगै लीगका लागि खेलाडी अुनबन्ध गर्दै क्लबले तयारी शुरु गरेको छ। प्रशिक्षणका लागि अनुभवी प्रशिक्षक र लामो समय पाएकोमा खेलाडीहरु पनि उत्साहित छन् । पहिलो सिजन ए डिभिजन खेल्ने तयारीमा रहेका उनीहरु बलियो टोलीका रुपमा स्थापित हुन कडा मिहेनेत गरिरहेका छन् ।

दुई पटक ए डिभिजनको नजिक आएर पनि वञ्चित भएको विगतबाट पाठ सिक्दै सातदोबाटो नयाँ अध्याय शुरु गर्ने तरखरमा छ । कात्तिक २९ गतेदेखि शुरु हुने यस सिजन पुछारका दुई क्लबहरु रेलिगेशनमा पर्ने हुँदा सातदोबाटो कुनै पनि हालतमा शीर्ष श्रेणीमा टिक्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्