समाज

श्रीनगर साँस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १७:२९
श्रीनगर साँस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ पाल्पा । पाल्पाको श्रीनगर साँस्कृतिक डबलीको भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाको कला, संस्कृति, भेषभूषा, रहनसहन लगायतको प्रचार गरी पर्यटन आगमन वृद्धि गर्ने लक्ष्यका साथ श्रीनगर डबली निर्माण थालिएको हो ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरमा विक्रम सम्बत २०७६ असार ८ गते श्रीनगर सांस्कृतिक डबली निर्माण गर्न सम्झौता भएको थियो ।

लुम्बिनी प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार रुपैयाँ बजेटमा प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले डबलीको काम थालेको हो । विक्रम सम्बत २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौतामा निर्माण थालिए पनि आयोजनाको काम सकिन अझै छ महिना लाग्ने निर्माण पक्षको दावी छ ।

पाल्पा पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । रानीमहल, पाल्पा दरबार, भैरव मन्दिर लगायतका ऐतिहासिक सम्पदा अवलोकन गर्न पर्यटकहरु पाल्पा पुग्छन् ।

यो डबलीबाट पाल्पाका विभिन्न जातजातिको कला, संस्कृति प्रदर्शन गरिरहेका हुन्छन् । नयाँ पुस्ताका युवाले बिर्सिएको कला, सँस्कृति सम्बन्धि डबलीमार्फत ज्ञान अभिवृद्धि हुने र कला, संस्कृतिसँग जोडेर स्थानीय बासिन्दाको आयआर्जन हुनेछ ।

पहाडी जिल्ला पाल्पा कला, संस्कृतिको धनी जिल्ला हो । पाल्पामा आधाभन्दा बढी जनसंख्या मगर जातिको छ । तानसेन नगरपालिकाभित्र नेवार समुदायको पनि बाक्लो बस्ती छ ।

डबली सञ्चालनमा आएपछि पाल्पाको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ । रोजगारीका अवसरहरु सिर्जना हुने तथा कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

श्रीनगर साँस्कृतिक डबलीको भौतिक संरचना निर्माण अन्तिम चरण पुगेको छ । भौतिक संरचना निकै आकर्षक रुपमा निर्माण थालिए पनि कला संस्कृतिको जर्गेना गरी पाल्पाको पर्यटन क्षेत्रको उत्थान गर्न जरुरी छ ।
कृष्ण दर्नाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *