समाज

छाडा चौपाया व्यवस्थापनका लागि बुटवलमा यस्तो देउसी–भैलो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १८ गते १८:१२
छाडा चौपाया व्यवस्थापनका लागि बुटवलमा यस्तो देउसी–भैलो (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७८ काठमाडौं । छाडा चौपायाका कारण बुटवलका सडक अस्तव्यस्त हुने गरेका छन् । छाडा चौपाया व्यवस्थापनका लागि बुटबल उपमहानगरपालिका र सामुदायिक वनको पहलमा गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी देउसी भैलो भट्याउँदै हुनुहुन्छ । यो दृश्य आज बिहानको हो । बुटवलमा गौ संरक्षण केन्द्रको सुरुवात गर्दै गाई संरक्षणका लागि प्रतिबद्धता जनाउँदै उहाँले भैलो भट्याउनु भएको हो ।

बुटवलमा सडक आश्रित गाईसहित चौपायाको समस्या छ । गाईपालन गर्ने किसानले बुढा भएका गाई र बाच्छालाई सडकमा लगेर छाडिदिने गरेका छन् । यसले बुटवलको सडक छाडा गाईवस्तुले भरिएको छ ।

सडक दुर्घटना बढेको छ, भने ट्राफिक जामले सडक अस्तव्यस्त हुने गरेको छ । यसलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूह मिलेर वनमा नन्दिनी गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । सडक आश्रित गाईलाई गौं संरक्षण केन्द्रमा पालनपोषण गरिने छ ।

सामुदायिक वनको ८ विघा जमिनमा तारबार गरेर गौ संरक्षण केन्द्रको निर्माण गरिएको हो । गाईवस्तुका लागि टहरा, चौकिदार भवन, खानेपानीका लागि पोखरी निर्माण गरिएको छ । गाईवस्तु हेरचाह गर्नका लागि २ जना चौकिदारको नियुक्त गरिएको छ । गाईका लागि खानेकुरा वन, उपमहानगरपालिका र स्थानीयको सहयोगबाट जुटाइने छ ।

गाईको व्यवस्थापन तथा संरक्षण गर्नका लागि रुपन्देही जिल्लामा अहिलेसम्म ४ वटा गौं संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । संरक्षण केन्द्र सञ्चालनमा ल्याएसँगै छाडा गाईवस्तुको समस्या हल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *