राजनीति

मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तत्काल कारबाही गर्ने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १८ गते १७:५३
मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तत्काल कारबाही गर्ने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७८ काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताउनुभएको छ ।

आज नेकपा(माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताउनु भएको हो ।

उहाँले पार्टीमा जतिसुकै ठुलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठुलो पदको पार्टीको भएपनि हामी कडा स्टेप चाल्ने छौँ अहिले । तपाईँहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौँ ।’

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताउनुभयो । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड ज्यूँदै रहुन्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘अहिलेपनि प्रतिक्रान्तिकारीहरु षड्यन्त्रमै छन् । प्रतिक्रियावादीहरु षड्यन्त्रमै छन् । देशी विदेशी प्रतिक्रियावादीहरु कुनै न कुनै रुपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरेपनि नहुने, उनीहरुले तारो बनाए तपाईहरुलाई थाहा छ, उनीहरुको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकी पार्टी फुटाउँदा पनि केही सिप लागेन । पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड ज्यूँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ फेरि जागेर आउँदोरहेछ भन्ने अहिले देखियो । त्यसकारण अनेक खालका षड्यन्त्र छन् । तार्गेट चाहिँ बनाउन खोजिएको छ ।’

अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्