बारम्बारको दुर्घटनापछि विमानस्थलको झाडी सरसफाइ (भिडियो रिपोर्टसहित)
१७ कात्तिक २०७८ बाँके । आसपासको झाडी तथा तारबारको अभावका कारण नेपालगञ्ज बिमानस्थलको धावन मार्गमा जहाज बदेल र दुम्सीसँग ठोक्किएर पटक पटक दुर्घटना हुने गरेको छ । ३ वटा बँदेलसँग ठोक्किएर हिजो पनि सीता एयरको जहाज दुर्घटनामा पर्यो ।
दुर्घटनापछि बल्ल जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु परिचालन गरेर नेपालगन्ज विमानस्थलको झाडी सरसफाइ थालिएको छ।
नेपालगन्ज विमानस्थलको धावन मार्गको लम्बाई १ हजार ५ सय ५ मिटर र चौडाई ३० मिटर छ । ३० मिटर चौंडाईसहित थप दुई सय मिटर लामो धावन मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज विमानस्थलको धावन मार्गको दायाँ बायाँ रहेको झाडी र बुट्यान लामो समयदेखि सफाई हुन सकेको छैन । विमानस्थल नजिकै जंगल छ ।
विमानस्थलको तारबार काटेर स्थानीय बासिन्दा लुकीछिपी धाँस काट्न विमानस्थल परिसरमा पस्छन् । तारबारको अभाव र बाक्लो झाडीका कारण जनावरबाट हुनसक्ने दुर्घटनाको जोखिममा विमानस्थल सधैँ रहँदै आएको छ । बजेटको कमी र कात्तिकको पहिलो सातासम्म वर्षा भएका कारण झाडी व्यस्थापनमा ढिलाई भएको विमानस्थलको दाबी छ ।
कात्तिक १६ नेपालगन्जबाट हुम्लाको सीमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएको थियो । त्यसै गरी कार्तिक १३ गते बुद्ध एयरको विमान दुम्सीसँग ठोक्किएको थियो । दुर्घटनापछि अहिले विमानस्थल आसपासमा धमाधम सफाइको काम भइरहेको छ । नेपाली सेनासहित सुरक्षाफौज विमानस्थलको झाडी सरसफाइमा जुटेको हो ।
थप दुर्घटना नहोस् भन्नका लागि सरसफाइ गरिएको विमानस्थलको भनाइ छ ।
हाल नेपालगन्ज विमानस्थलबाट दैनिक सरदर ४० उडान हुँदै आएको छ । नेपालगन्ज विमानस्थलबाट दैनिक करिब १ हजार ५ सय यात्रुले हवाई यात्रा गर्दै आएका छन ।
प्रतिक्रिया