खेलकूद

महिला ट्वेन्टीट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग भिड्ने

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १९:०३
महिला ट्वेन्टीट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग भिड्ने

१७ कात्तिक २०७८ काठमाडौं । अर्को महिना युएईमा हुने आइसिसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग खेल्ने भएको छ ।

आज सार्वजनिक भएको विश्वकपका लागि एसिया छनोटको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा मंसिर ६ गते हङकङसँग खेल्ने तय भएको हो । एसिया छनोटमा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ देश सहभागी छन् ।

छनोटको दोस्रो खेलमा नेपालले मंसिर ७ गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । सबै टोलीले एकअर्कासँग खेलिसकेपछि तालिकामा शीर्षस्थानको टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ ।

ग्लोबल छनोटमा एसिया सहित अन्य ५ क्षेत्रका शीर्ष टोलीबीच खेल हुनेछ । त्यसको शीर्ष दुई टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने महिला ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा दाबेदार नेपाली टोली अहिले त्रिवि क्रिकेट मैदानमा तयारी गरिरहेको छ ।

नेपाल क्रिकेट संघ क्यानले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला टोली समेत घोषणा गरिसकेको छ । छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली बंगलादेश जाँदैछ ।

त्यहाँ नेपालले बंगलादेशको ए र मिश्रीत टोलीसँग अभ्यास खेल खेल्ने तय भएको छ । महिला टोलीले पछिल्लो पटक नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्