खेलकूद

३ खेलमा लज्जास्पद हार : एन्फाको युवा टोली लक्षित उदासिनता उदाङ्गियोे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १६:०३
३ खेलमा लज्जास्पद हार : एन्फाको युवा टोली लक्षित उदासिनता उदाङ्गियोे (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । २३ वर्ष मुनिको एएफसी एसिया कप छनोटमा गोलविहीन नेपाली युवा टोलीले यस संस्करणमा पनि सफलता हात पार्न सकेन ।

ताजिकिस्तानमा भएको समूह बी मा नेपालले ३ वटै खेलमा लज्जास्पद हार व्यहोर्दा एक गोल पनि गर्न सकेन । नेपालको बिर्सनलायक प्रदर्शनले अखिल नेपाल फुटबल संघ (एन्फाको युवा टोली लक्षित उदासिनता उदाङ्गो पारेको छ ।

नेपाली सिनियर फुटबल टोलीले अन्तर्राष्ट्रिय मैदानमा सम्भावना देखाइरहँदा जसरी समर्थक खुसी थिए, त्यसरीनै युवा टोलीको प्रदर्शनबाट खिन्न बनेका छन् ।

नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकूद सागमा स्वर्ण जित्न सफल यो टोलीबाट समर्थकले धेरै नै आशा पनि गरेका थिए । तर जसरी ताजिकिस्तानमा नेपाली टोलीले नतिजा निकाल्यो यसले त्यो आशामाथि तुषारापात भयो । यसले अखिल नेपाल फूटबल संघ एन्फाको युवा टोली लक्षित योजना र तयारी माथिनै प्रश्न उठेको छ ।

कुनै पनि राष्ट्रको सिनियर टोलीको मेरुद्दण्ड नै युवा टोली हो । युवा खेलाडीको प्रदर्शनकै आधारमा सिनियर टोलीको भविष्य निर्धारण हुन्छ । तर एन्फाले जसरी सिनियर टोलीको तयारीमा चासो देखाइरहेको छ, युवा टोलीमा भने उचित ध्यान पुगेको देखिएन ।

नेपाल रहेको समूह बी मा तुलनात्मक रुपमा बलिया प्रतिद्वन्द्वीविरुद्ध नेपाली टोलीको प्रदर्शन अपेक्षाकृत हुन सकेन । प्रतियोगिताका लागि ताजिकिस्तान जानु अघि कम्तीमा दुई खेल जित्दै उत्कृष्ट उपविजेताका रुपमा एसिया कपमा छनोट हुने लक्ष्य लिएको नेपाल पहिलो खेलदेखिनै कमजोर सावित भयो ।

इरानसँग पहिलो खेलमा ४(० को हार व्यहोरेको नेपाल दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६-० को फराकिलो अन्तरले पराजित भयो । दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा लेबनानसँग फेरी ४–० कै हार भोग्यो । सन् २०१३ मा भएको पहिलो संस्करणमा बंगलादेशलाई हराएयता नेपालले कुनै खेल जित्न सकेको छैन् ।

बंगलादेश र उज्वेकिस्तानविरुद्ध मात्र गोल गरेको नेपाल बाँकी सबै खेलमा गोलविहीन छ । पाँच संस्करणको छनोट खेल्दा नेपालले कुल १७ खेल खेलेको छ र ५७ गोल खाँदा मात्र ६ गोल गरेको छ ।

उमेर समूहमा दक्षिण एसियामा दबदबा बनाएपनि एसियाली स्तरमा नेपालको निकै तल रहेको यहि प्रतियोगिताले पुष्टि गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले अबको केही वर्षमा एसिया कप खेल्ने लक्ष्य रहेको बताइरहँदा सिनियर टोलीको जग मानिएको युवा टोलीको प्रदर्शन भने खिस्याइरहेको छ । त्यसैले प्रतिफलको आशा मात्र गर्ने एन्फा लगायतका निकायले फुटबलमा सफलता पाउन अब भने उचित ध्यान र लगानी गर्न ढिलाई भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्