खेलकूद

यस्ता छन् फूटबलका मुख्य प्रशिक्षक अलमुताइरीको अबको योजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते २१:००
यस्ता छन् फूटबलका मुख्य प्रशिक्षक अलमुताइरीको अबको योजना (भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरेको छ ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप पछि नेपाल नफर्किने घोषणा गरेका उनी एन्फा अध्यक्ष र कतार फुटबल संघसँगको छलफल पछि जिम्मेवारी सम्हाल्न नेपाल फर्किएका हुन् । नयाँ सम्झौता गरेसँगै पत्रकार माझ उपस्थित भएका उनले अबको ३ वर्षका लागि आफ्नो योजना समेत सार्वजनिक गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ वर्षका लागि नेपाली टोलीको जिम्मेवारी लिएका छन् । अखिल नेपाल फुटबल संघ एन्फा र कतार फुटबल संघसँगको छलफल पछि अलमुताइरी सन् २०२४ सम्म टोलीको मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हाल्न तयार भएका हुन् । सोमबारदेखि लागु भएको यो सम्झौता पुरानो सम्झौताको नविकरण नभएको उनले खुलाए ।

कतार फुटबल संघ क्युएफएको सहयोगमा दोश्रो पटक नेपाल आएका उनको पारिश्रमिक कतारलेनै दिने छ । नेपालको बसाईँ र अन्य खर्च एन्फाले व्यहोर्ने गरि सम्झौता भएको छ । तर एन्फा र अलमुताइरीले दुवैले यस बारेमा केही बोलेका छैनन् । तर अलमुताइरीले पोहोर भन्दा यसपाली पारिश्रमिक बढेको पुष्टि गरे ।

क्युएफएकै सहयोगमा गत वर्ष पहिलो पटक टोलीको जिम्मेवारी सम्हाल्न आएका उनले साफ च्याम्पियनसिपपछि नेपाल नफर्किने घोषणा गरेका थिए । तर पछि एन्फा अध्यक्ष, क्युएफए र उनीबीच भएको त्रिपक्षिय सम्झौता पछि उनी नेपाल आए । आफ्नो ३ वर्षको कार्यकालका लागि उनले अर्को साफ च्याम्पियनसिप र एसिया कप लक्षित योजना समेत सार्वजनिक गरे ।

उनले सुरुवाती चरणमा राष्ट्रिय टोलीको प्रशिक्षणलाई एसिया कप र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई लक्षित तयारी गर्ने बताए । जसअनुसार नेपालले अगामी जनवरीदेखि मार्चसम्मका लागि ४ वटा मैत्रीपूर्ण खेलका लागि विदेशी टोलीसँग छलफल भईसकेको छ।

नाम नबताएपनि ४ मध्ये २ टोली वरियतामा एक सय भित्रकै टोली रहेको उनले खुलाए । यसका लागि ७ चरणमा तयारी गर्ने गरि उनले खाका बनाएका छन् । केहि संचार माध्यमले अनावश्यक प्रचार गरेको भन्दै तर्किएका उनले सकारात्मक समाचार सम्प्रेषणका लागि आग्रह पनि गरे ।

सामाजिक संजालमा समर्थकमाझ लोकप्रिय छवी बनाएका उनले नेपाली समर्थककै कारण आफू फर्किएको प्रतिक्रिया दिए । यस पटक साफ च्याम्पियनसिपको फाइनल मात्र पुगेपनि अर्को पटक उपाधि जित्ने गरि तयारीमा लाग्ने र यसमा सबै पक्षबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ इतिहासकै पहिलो पटक फाइनल पुग्न सफल भएको थियो । सुरुवातदेखिनै टोलीमा हेरफेर गरेका उनीबाट नेपाली फुटबलले पनि धेरै अपेक्षा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्