एसिया कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित

१४ कात्तिक २०७८ काठमाडौं । एक गोल पनि नगरी नेपाली युवा टोली २३ वर्ष मुनिको एएफसी एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।
ताजिकिस्तानको सेन्ट्रल रिपलिब्लकन स्टेडियममा आज भएको समुह चरणको अन्तिम खेलमा लेबनानसँग ४(० गोलले पराजित हुँदै नेपालले छनोट प्रतियोगिता टुङ्ग्याएको हो । सुरुवाती केही समय लेबनानलाई रोक्न सफल नेपालले २६ औं मिनेटमा पहिलो गोल खायो ।
पहिलो हाफमा जेइन फरानको गोलबाट पछि परेको नेपालले दोस्रो हाफको सुरुवातमै २ गोलले पछि पर्यो । ४७ औं मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गरे । लेबनान सामु निरिह देखिएको नेपालको पोष्टमा ७४ औं मिनेटमा मोहमद नासिर र ८२ औं मिनेटमा मोहमद हेइदरले थप १–१ गोल गरे ।
पहिलो संस्करणदेखि सहभागी हुँदै आएको नेपालले सन् २०१६ मा भएको दोस्रो संस्करणको छनोट देखिको गोलविहीन नतिजा यस पटक पनि तोड्न सकेन ।
नेपालविरुद्ध सान्त्वना जित हात पार्दै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
समूह बी मा नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० गोलले हार्दै छनोटबाट बाहिरिएको थियो । उता, लेबनान पनि पहिलो खेलमा ताजिकिस्तानसँग १–० र दोस्रोमा इरानसँग २–० गोलले हारेको थियो ।
अघिल्ला दुवै खेल जितेका ताजिकिस्तान र इरानबीच अहिले खेल भइरहेको छ । यस खेलको विजेता वा बराबरी भएमा ताजिकिस्तानले अर्को वर्ष उज्वेकिस्तानमा हुने २३ वर्ष मुनिको एसिया कपमा स्थान बनाउने छ ।
दोस्रो स्थानमा रहने टोलीको पनि उत्कृष्ट उपविजेताका रुपमा एसिया कपमा छनोट हुने सम्भावना उच्च छ ।
प्रतिक्रिया