आर्थिक

राष्ट्र बैंकले माग्यो पुनर्कर्जाका लागि आवेदन, ककसले पाउँछन् पुनर्कर्जा ?

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १३:१८
राष्ट्र बैंकले माग्यो पुनर्कर्जाका लागि आवेदन, ककसले पाउँछन् पुनर्कर्जा ?

१४ कात्तिक २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको छ ।

राष्ट्र बैंकका अनुसार पुनर्कर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन बमोजिम एकमुष्ट रुपमा पुनर्कर्जाका लागि आवेदन माग गरेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा हुने पुनर्कर्जाका लागि आवेदन दिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार मंसिर १९ गतेसम्म आवेदन बुझाउनु पर्ने छ ।

यसअघि असोज २५ मा जारी भएको परिपत्र अनुसार कोरोनाबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा उक्त कर्जा दिन लागेको हो । आवेदन दिनका लागि केही शर्त समेत तोकेको छ । जसमा संस्थाले माग गर्ने कूल पुनर्कर्जाको रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ ।

पुनर्कर्जाका लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन दिनुपर्नेछ । कोरोनाले प्रभाव पारेका मध्ये अति प्रभावित र मध्यम प्रभावित गरी दुई भागमा विभाजन गरिएको छ ।

अति प्रभावितमा परेको पर्यटन अन्तर्गत ट्राभल, ट्रेकिङ एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, हवाइ तथा पर्यटकीय यातायात लगायतका छन् ।

मध्यम प्रभावितमा अस्पताल, नर्सिङहोम, निर्माण व्यवसाय र औषधि उत्पादक कम्पनी, छपाई, प्रकाशन तथा सञ्चार गृह आदि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *